धनगढी — बाजुराको लाम्पाटा क्षेत्रमा भएको पछिल्लो विवाद, झडप र आक्रमण घटनापछि बाजुराका चार स्थानीय तहहरूले संयुक्त रूपमा कडा आपत्ति जनाउँदै घटनामा संलग्नमाथि तत्काल कारबाहीको माग गरेका छन् ।

हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा उल्लेख गर्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला समन्वय समिति, सुदूरपश्चिम प्रदेश सरकार, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा लाम्पाटा, च्याचउर, रानीसैन लगायतका क्षेत्रहरू ऐतिहासिक रूपमा बाजुराको भूभाग भएको दाबी गर्दै सन् २००१ मा नापी विभागले जारी गरेको नक्सा सिट नं. २९८१००३ लाई आधारका रूपमा प्रस्तुत गरिएको छ । स्थानीय तहहरूले उक्त नक्सामा साक्या लाग्ना, डाँडालेप्च्या र ठोसाभन्दा माथि हुम्ला र तल बाजुरा स्पष्ट रूपमा छुट्याइएको उल्लेख गर्दै विवादित क्षेत्र बाजुराकै कानुनी भूभाग भएको दाबी गरेका छन् ।

उक्त विज्ञप्तिमा भनिएको छ कि “साक्या लाग्नाभन्दा तलका जेखुङ्खर्क, मायोङ्खर्क, रानीखर्क, धौली खर्क, च्याचौर र लाम्पाटा बाजुरामा पर्ने स्पष्ट कानुनी आधार हुँदाहुँदै हुम्लाको खार्पुनाथ क्षेत्रका बासिन्दाले आक्रमण गर्नु निन्दनीय छ” । स्थानीय तहहरूले यस घटनालाई योजनाबद्ध र तथ्यहीन दाबीको आधारमा गरिएको आक्रमणको रूपमा व्याख्या गरेका छन् ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाया, बुढीनन्दा नगर प्रमुख जनककुमार बोहरा र जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाही रहेका छन् ।

यसैबीच, घटनामा भएको झडपका क्रममा केही स्थानीय, प्रहरी र सरकारी कर्मचारी घाइते भएका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–२ क्षेत्रबाट आएका दर्जनौं व्यक्तिहरूले मंगलबार लाम्पाटा क्षेत्रमा प्रवेश गरी आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मीन कुँवर, प्रहरी सहायक हवल्दार महेश धामी तथा प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएका छन् । साथै, घरमा तोडफोडसमेत गरिएको प्रशासनले जनाएको छ ।

घटनाको क्रममा “हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं” अभियानअन्तर्गत साइपाल हिमालको पूर्वी बेसक्याम्प रानीसैन जाने क्रममा रहेको धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालसहितको टोली पनि अवरोधमा परेको छ । अवरोधका कारण उक्त टोली रानीसैन नपुगी फर्किन बाध्य भएको बताइएको छ ।

लाम्पाटा क्षेत्र बाजुराको अन्तिम बस्ती मानिन्छ, जहाँबाट रानीसैन पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।

यसैबीच, प्रदेश सांसद नरेशकुमार शाहीले घटनालाई सीमावर्ती विवाद मात्र नभई आर्थिक र रणनीतिक स्वार्थसँग पनि जोडिएको दाबी गरेका छन् । उनका अनुसार उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना र पर्यटकीय गतिविधि विस्तार रोक्ने उद्देश्यले केही समूहहरू सक्रिय भएको आशंका गरिएको छ । उनले जडीबुटी तथा वन्यजन्तु चोरी–तस्करी नियन्त्रणमा अवरोध पुर्‍याउन पनि यस्तो तनाव सिर्जना गरिएको हुन सक्ने टिप्पणी गरेका छन् ।

घटनापछि स्थानीय तह र सुरक्षा निकायहरूबीच समन्वय बढाउँदै थप तनाव फैलिन नदिन पहल भइरहेको जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय