पोखरा — पोखरा महानगरपालिका ले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका सबै स्थायी तथा अस्थायी संरचना ९ जेठभित्र हटाउन अन्तिम चेतावनी जारी गरेको छ । तोकिएको समयसीमाभित्र अतिक्रमण हटाइएन भने महानगर आफैंले डोजर चलाएर हटाउने र त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने स्पष्ट चेतावनी पनि दिएको छ ।
महानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ को गाईघाटसम्म फैलिएको फिर्केखोलाको खोलाघरभित्र बनेका सबै संरचना हटाउन निर्देशन दिएको हो । फिर्केखोला फिर्केखोला फेवातालमा मिसिने प्रमुख जलमार्गमध्ये एक हो, जसको संरक्षणलाई महानगरले पछिल्ला वर्षहरूमा प्राथमिकता दिँदै आएको छ ।
महानगरका अनुसार यसअघि २०८० कात्तिक १० गते ३५ दिने सूचना जारी गर्दै प्राविधिक टोलीमार्फत खोलाघरको सीमांकन गरी पोल गाडेर क्षेत्र निर्धारण गरिएको थियो । अहिले ती सीमांकनभित्र पर्ने सबै संरचना हटाउन भनिएको हो ।
सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले ‘उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने’ निर्णय दिएको महानगरले जनाएको छ । सो फैसलापछि कानुनी आधार स्पष्ट भएको भन्दै महानगरले पुनः हटाउने प्रक्रिया अघि बढाएको हो ।

महानगरले २०८३ वैशाख ४ गते पनि अर्को सूचना जारी गरिसकेको उल्लेख गर्दै अहिले अन्तिम चेतावनी दिइएको हो । सूचनामा भनिएको छ, “फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना २०८३ जेठ ९ गतेभित्र स्वयम् हटाउनू, अन्यथा महानगर आफैंले हटाउनेछ र लाग्ने खर्च असुल गरिनेछ ।”
पछिल्ला वर्षहरूमा फिर्केखोला आसपास घर, टहरा, पर्खाल र अन्य भौतिक संरचना विस्तार हुँदै गएपछि खोलाको प्राकृतिक बहाव साँघुरिँदै गएको महानगरको निष्कर्ष छ । यसले वर्षायाममा डुबान र बाढीको जोखिम बढाएको भन्दै महानगरले अतिक्रमण हटाउन अभियान तीव्र बनाएको हो ।
महानगरले फिर्केखोला संरक्षणलाई फेवाताल संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रूपमा लिँदै दीर्घकालीन वातावरणीय सुरक्षाका लागि कडाइका साथ कार्यान्वयन अघि बढाउने संकेत गरेको छ ।

