महोत्तरी — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार निरन्तर रहने दाबी गर्दै पार्टी संगठनलाई अझ सुदृढ र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।
बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेश प्रदेशस्तरीय भेला’ तथा ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने स्पष्ट संकेत दिएका हुन् । उनका अनुसार मधेश प्रदेशमा कांग्रेसको नेतृत्व केवल राजनीतिक दाबी मात्र नभई संगठनात्मक शक्ति र जनविश्वासमा आधारित छ ।
थापाले पार्टीपंक्तिलाई संगठन विस्तारसँगै जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउन निर्देशन दिँदै कांग्रेसका हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अघि बढाउनुपर्ने बताए । उनका अनुसार राजनीतिक गतिविधि केवल सत्ता वा चुनाव केन्द्रित नभई जनजीवनका समस्या समाधानसँग प्रत्यक्ष रूपमा जोडिनुपर्छ ।
उनले मधेश प्रदेशमा भइरहेको ‘जरा अभियान’लाई पार्टीको आधार तहदेखि नै संगठन सुदृढ गर्ने महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गर्दै यसले आगामी राजनीतिक दिशा निर्धारणमा समेत प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले पनि प्रदेशमा पार्टीको भूमिका, संगठन विस्तार र स्थानीय तहसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए ।

