काठमाडौँ — क्रिस्टोफर नोलानको बहुचर्चित फिल्म The Odyssey मा हेलेनको भूमिकालाई लिएर सुरु भएको विवादमा ओस्कर विजेता अभिनेत्री Lupita Nyong’o ले आफ्ना आलोचकहरूलाई विस्तृत रूपमा जवाफ दिएकी छन् ।

यो विवाद तब चर्किएको हो जब सामाजिक सञ्जालमा फिल्मको कास्टिङलाई लिएर तीव्र बहस सुरु भयो । विशेषगरी पौराणिक पात्र हेलेन अफ ट्रोयको भूमिकामा लुपितालाई चयन गरिएको विषयमा केही प्रयोगकर्ताले प्रश्न उठाएका थिए । निर्देशक Christopher Nolan ले बनाइरहेको यो फिल्म होमरको प्रसिद्ध महाकाव्य The Odyssey मा आधारित छ, जुन १७ जुलाईदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ ।

नोलानको यो परियोजनालाई अहिलेसम्मकै सबैभन्दा महँगो फिल्ममध्ये एक मानिएको छ । फिल्ममा हलिउडका ठूला नामहरू म्याट डेमन, एनी ह्याथवे, टम हल्याण्ड, रोबर्ट प्याटिन्सन र जेन्डाया लगायतको सहभागिता रहेको छ । तर फिल्म सार्वजनिक हुनुअघि नै यसको कास्टिङ निर्णय विशेषगरी लुपिताको भूमिकालाई लिएर विवाद सिर्जना भएको हो ।

यसैबीच अमेरिकी अर्बपति Elon Musk ले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै फिल्मको कास्टिङ र निर्देशक नोलानको निर्णयमाथि कडा आलोचना गरेका थिए । उनले पौराणिक कथाको मूल स्वरूपलाई तोडमोड गरिएको भन्दै यसलाई “अपवित्र” बनाइएको टिप्पणीसमेत गरेका थिए । मस्कको यो टिप्पणीपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा तीव्र बहस सुरु भयो । केही प्रयोगकर्ताले उनको भनाइको समर्थन गरे भने धेरै फिल्मकर्मी, आलोचक र दर्शकहरूले नोलान र लुपिताको पक्षमा आवाज उठाए ।

अभिनेता एलेक बाल्डविनले सामाजिक सञ्जालमा लुपिताको समर्थन गर्दै उनी संसारकै सुन्दर अभिनेत्रीमध्ये एक भएको टिप्पणी गरेका थिए । यता विवाद चर्किँदै जाँदा लुपिताले पनि आफ्ना विचार सार्वजनिक गरेकी छन् ।

लुपिताले स्पष्ट रूपमा भनिन् कि उनी निर्देशक नोलानको दृष्टिकोण र फिल्मले भन्न खोजेको नयाँ कथनसँग पूर्ण रूपमा सहमत छिन् । उनका अनुसार, पौराणिक कथालाई आधुनिक दृष्टिकोणबाट पुनःव्याख्या गर्नु फिल्म निर्माणको एक सिर्जनात्मक अभ्यास हो र यसमा विविधता हुनु स्वाभाविक प्रक्रिया हो ।

उनले भनिन्, “यो एउटा पौराणिक कथा हो, र म यसमा निर्देशक क्रिसको दृष्टिकोण र उनले भन्न खोजेको नयाँ शैलीको कथाको समर्थक हुँ । फिल्ममा गरिएको कास्टिङले विश्वव्यापी प्रतिनिधित्वलाई समेट्ने प्रयास गरेको छ । त्यसैले यसबारे अनावश्यक बहस गर्नु वा समय खेर फाल्नु आवश्यक छैन । म यस परियोजनामा संलग्न हुन पाउनु मेरो लागि गर्वको विषय हो ।”

लुपिताले आफ्नो करियरको अनुभव पनि साझा गर्दै भनिन् कि पहिलो फिल्म 12 Years a Slave बाटै उनले ओस्कर जितेकी थिइन्, तर त्यसपछि लामो समयसम्म उनलाई सीमित र दोहोरिने प्रकारका भूमिकाहरू मात्र प्रस्ताव गरियो । उनले भनिन् कि धेरैजसो प्रस्तावहरू दासत्व वा पीडित महिलाका भूमिकामा केन्द्रित थिए, जुन उनका लागि निराशाजनक र सीमित दायरा भएको अनुभव थियो ।

उनले थप भनिन् कि Black Panther, Us, A Quiet Place: Day OneThe Wild Robot जस्ता फिल्महरूले उनलाई फरक–फरक शैलीमा काम गर्ने अवसर दिएको छ, जसले उनको अभिनय यात्रालाई विविध बनाएको छ ।

‘द ओडिसी’ जस्तो ऐतिहासिक र पौराणिक कथामा आधारित फिल्ममा काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको उनले दोहोर्याइन् । उनका अनुसार, यस्तो परियोजनाले विश्वव्यापी फिल्म उद्योगमा विविधता र समावेशीता बढाउन मद्दत गर्छ ।

यसै विषयमा प्रतिक्रिया दिँदै अमेरिकी अभिनेत्री Whoopi Goldberg ले पनि सामाजिक सञ्जालमा भएको विवादप्रति आलोचना गर्दै कलाकारको काम र कास्टिङ निर्णयलाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न आग्रह गरेकी छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय