काठमाडौं । Kalanga Hydro Limited ले आज जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले कुल जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ ।
त्यसैगरी, कम्पनीले १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइसकेको छ ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले बाँकी रहेको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमार्फत कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आगामी जेठ १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक Sanima Capital Limited रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।
त्यस्तै, Mero Share मार्फत अनलाइन आवेदन दिने व्यवस्था पनि खुला गरिएको छ ।

