काठमाडौँ — चीनको उत्तरी प्रान्त सान्छीस्थित कोइला खानीमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको पुष्टि भएको छ। सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजले जनाएअनुसार यो दुर्घटना चीनको पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो खानी दुर्घटनामध्ये एक मानिएको छ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेर २९ मिनेटमा चाङझी सहरस्थित लिउसेन्यू कोइला खानीभित्र विस्फोट भएको हो। अचानक भएको विस्फोटले खानीभित्र ठूलो मात्रामा धुवाँ र विषाक्त ग्यास फैलिएको बताइएको छ, जसका कारण उद्धार कार्य निकै कठिन बनेको थियो।

चाइना डेलीका अनुसार दुर्घटनाको समयमा करिब २४७ जना कामदार खानीभित्र कार्यरत थिए। तीमध्ये २०१ जनालाई सुरक्षाकर्मी र उद्धार टोलीले सफलतापूर्वक बाहिर निकाल्न सफल भएका छन्। बाँकी कामदारहरूको अवस्थाबारे प्रारम्भिक खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार खानीभित्र कार्बन मोनोअक्साइडको मात्रा अत्यधिक रूपमा बढेको थियो, जुन “सुरक्षित सीमाभन्दा धेरै माथि” पुगेको थियो। यही विषाक्त ग्यासको उच्च स्तरले उद्धार कार्यलाई थप जोखिमपूर्ण बनाएको अधिकारीहरूले बताएका छन्।

घटनापछि चीन सरकारले तत्काल उच्च स्तरीय आपतकालीन उद्धार अभियान सुरु गरेको छ। राष्ट्रपति सी चिनफिङले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको अधिकतम सम्भव उद्धार गर्न निर्देशन दिएका छन्। उनले घटनाको कारणबारे विस्तृत र निष्पक्ष अनुसन्धान गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन पनि आदेश दिएका छन्।

चीनको आपतकालीन उद्धार एजेन्सीका अनुसार दुर्घटनासँग सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई सुरक्षानिकायले नियन्त्रणमा लिएको छ। हाल विस्फोटको वास्तविक कारण पत्ता लगाउन प्राविधिक तथा फरेन्सिक अनुसन्धान जारी रहेको जनाइएको छ।

स्थानीय प्रशासनले घटनास्थल वरपरको क्षेत्रमा सुरक्षा कडाइ गर्दै उद्धार टोलीलाई निरन्तर काम गर्न सहयोग गरिरहेको छ। खानीभित्र अझै फसेका व्यक्तिहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय