काठमाडौं । गर्मी मौसम सुरु भएसँगै घरभित्र माउसुली (छेपारो) देखिने समस्या पनि बढ्ने गर्छ । विशेषगरी वर्षा र गर्मीको समयमा यिनीहरू भित्ता, भान्सा, सुत्ने कोठा तथा घरका कुनाकाप्चामा सक्रिय रूपमा देखिन थाल्छन् । प्रकाश भएको, ओसिलो वातावरण र साना कीराहरूको उपस्थिति भएका स्थानहरू माउसुलीका लागि उपयुक्त हुने भएकाले घरभित्र यिनीहरूको उपस्थिति बढ्ने गर्छ ।
गर्मीमा घरभित्र आउने कीराहरू, विशेषगरी बत्तीमा झुम्मिने पुतली तथा अन्य साना कीराहरू माउसुलीको प्रमुख आहार हुने भएकाले यिनीहरू अझ सक्रिय हुन्छन् । यसले घरभित्र असहजता सिर्जना गर्ने मात्र होइन, दैनिकीमा पनि बाधा पुर्याउने गर्छ । दूध, पानी तथा खुला खानेकुरामा पर्नु, भान्साको सतहमा हिँड्नु वा सुत्ने बेला ओछ्यान वरिपरि देखिनुजस्ता घटनाले मानिसहरूलाई असहज बनाउने गर्छ ।
केही अवस्थामा माउसुलीले छोएका वा जुठो पारेका खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुन सक्ने बताइन्छ । झुक्किएर त्यस्ता खानेकुरा सेवन गर्दा पेटसम्बन्धी समस्या वा अन्य स्वास्थ्य जोखिम निम्तिन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव रहने गर्छ । विशेषगरी बालबालिका यसबाट बढी प्रभावित हुने सम्भावना हुन्छ, किनभने उनीहरू डराउने वा आत्तिने गर्छन् ।
यिनै कारणले घरभित्र माउसुली नियन्त्रण गर्नु आवश्यक मानिन्छ । यसका लागि विभिन्न घरेलु उपायहरू अपनाउने गरिएको छ ।
फिटकिरीको धुलो
फिटकिरी (alum) माउसुली टाढा राख्न प्रयोग गरिने एक सामान्य घरेलु उपाय हो । पातलो कपडामा फिटकिरीको धुलो राखेर स–साना पोकाहरू बनाइ धागोमा झुण्ड्याइन्छ । यस्ता पोकाहरू झ्याल, ढोका, भान्सा तथा कोठाका कुनामा वा बत्ती नजिक राख्दा यसको गन्धका कारण माउसुली टाढा रहने विश्वास गरिन्छ ।
अण्डाको बोक्रा झुण्ड्याउने
अर्को उपायका रूपमा अण्डाको बोक्रा प्रयोग गर्ने चलन छ । सियो र धागो प्रयोग गरेर अण्डाको बोक्रा झुण्ड्याएर राख्दा यसको दृश्य वा गन्धका कारण माउसुली टाढा भाग्ने मान्यता छ । यसलाई पनि घरका प्रवेशद्वार, झ्याल तथा कोठाका कुनामा राख्ने गरिन्छ ।
प्याज र लसुनको प्रयोग
प्याज र लसुनको तीव्र गन्ध पनि माउसुलीलाई टाढा राख्ने अर्को घरेलु उपाय मानिन्छ । सियो र धागो प्रयोग गरी प्याज वा लसुनका टुक्रा उनेर झुण्ड्याइन्छ वा राखिन्छ । माउसुली बढी आउने स्थानहरूमा यसको प्रयोग गर्दा यिनीहरू त्यहाँ बस्न नचाहने विश्वास गरिन्छ ।
यी घरेलु उपायहरू परम्परागत रूपमा प्रयोग हुँदै आएका भए पनि घर सरसफाइ, कीरा नियन्त्रण र उचित प्रकाश व्यवस्थापनले पनि माउसुलीको समस्या घटाउन मद्दत गर्ने विज्ञहरूको सुझाव रहने गर्छ ।

