काठमाडौं । जेसीआई पाटनको आयोजनामा सम्पन्न तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेटिङ चेस प्रतियोगितामा सल्याम शर्माले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका छन् । कुल १ सय ४२ जना प्रतिस्पर्धी खेलाडीहरूलाई पछि पार्दै शर्माले पहिलो स्थान हासिल गरेका हुन् ।

प्रतियोगिताको उपाधि जितेसँगै उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतिस्पर्धात्मक खेलहरूमा उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चरणसम्म अग्रता कायम राखेका थिए ।

प्रतियोगितामा एफएम क्षितिज भण्डारी दोस्रो स्थानमा रहे भने सुमन लामा तेस्रो भए । त्यस्तै राजेन्द्र प्रसाद श्रेष्ठ चौथो स्थानमा रहँदा सीएम नबिन तन्डुकार पाँचौँ स्थानमा रहे । छैटौँदेखि दसौँ स्थानसम्म क्रमशः फुर्बा लामा, बद्रिलाल नेपाली, मिसन दाहाल, एआईएम अभिक शाह र सन्देश श्रेष्ठ रहेका आयोजकले जनाएको छ ।

विधागत पुरस्कारतर्फ विभिन्न उमेर समूह र श्रेणीमा खेलाडीहरूलाई सम्मान गरिएको थियो । अनरेटेड समूहमा प्रशान्त गुरुङ प्रथम र सन्देश लिम्बू द्वितीय भए । महिलातर्फ ग्लोसी श्रेष्ठ प्रथम र सनम श्रेष्ठ द्वितीय भए । उत्कृष्ट पाभिलियन समूहमा सुलभ पन्थी प्रथम र श्यामबाबु शाह द्वितीय बने ।

त्यसैगरी यू–१६ समूहमा हर्षवर्धन राठी प्रथम र शुभम जोशी द्वितीय भए । यू–१४ समूहमा सात्विकमान तुलाधर प्रथम तथा ओस्कार पन्थी द्वितीय भए । यू–१२ समूहमा श्रेष्ठ साहस प्रथम र मैनाली दिपन द्वितीय भए भने यू–१० समूहमा रियान्शु पौडेल प्रथम र आयम सुवेदी द्वितीय भए ।

एलो १७०० मुनि समूहमा कबिन्द्र सिवाकोटी प्रथम र लेखराज भट्टराई द्वितीय भए । भेट्रान समूहमा पूर्णराज खड्का प्रथम र पुण्यमान कर्माचार्य द्वितीय घोषित भए । प्रतियोगितामा कुल ५६ हजार रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।

जेसीआई पाटनले चेस खेलको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा बौद्धिक खेल संस्कृतिको विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता ललितपुर महानगरपालिकाको मेयर चिरीबाबु महर्जनको उपस्थितिमा पाटन हाई स्कुल परिसरमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय