पोखरा, जेठ ११ । ठूलो वर्षा हुँदा पोखराको सडक फेरि एकपटक जलमग्न बनेको छ । ओरालो भू–भागमा रहेको शहर भएकाले वर्षा पानीसँगै बग्ने भल र सडक छेउका नालीहरूले थेग्न नसक्ने गरी पानी बग्दा पोखराका मुख्य सडकहरू जलमग्न हुने समस्या दोहोरिएको हो । बिहीबार साँझ परेको मुसलधारे वर्षासँगै न्युरोड, महेन्द्रपुल, पृथ्वीचोक, सभागृह, लेकसाइडलगायतका प्रमुख सडकहरूमा पानीको भेलसँगै फोहोरसमेत बगेर सडक अस्तव्यस्त बनेको थियो ।
वर्षासँगै सडकमा पानी मात्र होइन, फोहोरका पोकाहरू पनि बग्दा शहरको सरसफाइ व्यवस्थापनप्रति गम्भीर प्रश्न उठेको छ । पानी रोकिएपछि शुक्रबार बिहान पोखराका धेरै ठाउँमा सडकभरि फोहोर छरपस्ट देखिएको थियो । केही स्थानमा सरसफाइ गरिए पनि अन्य क्षेत्रमा बिहान अबेरसम्म पनि फोहोर यथावत् रहेको स्थानीयले बताएका छन् । यसले पर्यटकीय शहर पोखराको छवि नै प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

पोखरामा फोहोरको दीर्घकालीन व्यवस्थापन नहुँदा वर्षा हुनेबित्तिकै सडकमा फोहोर थुप्रिने र बग्ने समस्या नियमितजस्तै बनेको छ । पोखरा महानगरपालिकाको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख प्रभात लामिछानेका अनुसार हाल प्रयोगमा ल्याइएको स्थानमा केही प्राविधिक तथा स्थानीय अवरोधका कारण दुई दिनसम्म फोहोर व्यवस्थापन गर्न नसकिएको अवस्था रहेको हो । उनका अनुसार यही कारण केही नागरिकले फोहोर सडकमै फाल्दा समस्या थप जटिल बनेको छ ।
यसअघि पोखरा–३२ लामेआहालमा फोहोर व्यवस्थापन हुँदै आएको भए पनि उक्त स्थल भरिएपछि महानगरले नयाँ विकल्प खोज्नुपर्ने अवस्था आएको थियो । त्यसपछि विभिन्न स्थानहरू जस्तै पोखरा–१४, पृथ्वीचोकस्थित शान्तिवन बाटिका, दोबिल्ला क्षेत्र लगायतका ठाउँहरूमा अस्थायी रूपमा फोहोर व्यवस्थापन प्रयास गरिएको भए पनि स्थानीयको विरोधका कारण स्थायी समाधान सम्भव हुन सकेको थिएन ।
पछिल्लो समय पोखरा–२१ स्थित निजी जग्गामा फोहोर व्यवस्थापन गर्ने सहमति भए पनि त्यहाँ पनि समस्या देखिएको छ । भिरालो जमिनमा तलतिरबाट तारजाली (ग्याबियन) लगाउने र माथिबाट फोहोर थुपार्ने काम भइरहेको अवस्थामा प्राविधिक अवरोध उत्पन्न भएको जनाइएको छ ।

फोहोरमैला शाखाका हर्क गायकका अनुसार काम गर्ने क्रममा स्काभेटर नै फस्दा काम केही समय रोकिएको थियो । उनले भने, “स्काभेटर फस्दा निकाल्न समय लाग्यो, त्यसपछि मेसिन स्टार्ट नै हुन सकेन, त्यसैले काम रोकियो । अब अर्को स्काभेटर ल्याएर आजैदेखि फोहोर उठाउने र व्यवस्थापनको काम अघि बढाउने तयारी छ ।”
स्थायी फोहोर व्यवस्थापनको स्पष्ट दीर्घकालीन योजना नहुँदा पोखरामा वर्षा हुँदा सडक जलमग्न हुने, फोहोर बग्ने र दुर्गन्ध फैलिने समस्या पटक–पटक दोहोरिँदै आएको छ । यसले पर्यटकीय शहरको छवि मात्र होइन, स्थानीय जनजीवनलाई पनि प्रत्यक्ष असर पारिरहेको छ ।

