सङ्खुवासभा, १२ जेठ । मकालु गाउँपालिका–१ वालुङका ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएको अवस्थामा मृत फेला परेका छन्। उनी हिमाल आरोहण पूरा गरी फर्किने क्रममा दुर्घटनामा परेर सम्पर्कविहीन भएका थिए।

प्रहरीका अनुसार शेर्पाको शव सोमबार मकालु हाइ क्याम्प क्षेत्रमा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले शव फेला परेको पुष्टि गरेका छन्।

शेर्पा भारतीय र इरानी नागरिकहरूको पथप्रदर्शक (गाइड) का रूपमा २०८२ माघ १ गते मकालु हिमाल आरोहणमा गएका थिए। आरोहण सम्पन्न गरेर क्याम्प–४ बाट क्याम्प–३ तर्फ फर्किने क्रममा उनी र उनीसँगै रहेका अन्य सदस्यहरू लडेर बेपत्ता भएका थिए।

घटना भएपछि तत्कालै खोज तथा उद्धार कार्य सुरु गरिएको थियो। कैलाश एयरको हेलिकप्टर प्रयोग गरी आकाशमार्गबाट खोजी गरिएको भए पनि सुरुमा कुनै सुराक फेला परेको थिएन। त्यसपछि पैदलमार्ग हुँदै खोजी टोली परिचालन गरिएको थियो, जसमा मकालु एड्भेन्चरका सञ्चालक मोहन लम्सालसहित आठ जना सहभागी थिए।

लामो समयको खोजीपछि अन्ततः शेर्पाको शव मकालु हाई क्याम्प क्षेत्रमा फेला परेको हो। उनको शव पछि कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल) पठाइएको प्रहरीले जनाएको छ।

सोही आरोहण टोलीमा रहेका भारतीय नागरिक भने सकुशल फेला परेका थिए भने इरानी नागरिक अबोलजी गोजाली अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य अझै जारी रहेको जनाइएको छ।

घटनास्थल मकालु प्रहरी चौकीबाट करिब सात दिन पैदल दूरीमा पर्ने अत्यन्त दुर्गम क्षेत्र भएकाले खोज तथा उद्धार कार्य जटिल बनेको प्रहरीले जनाएको छ। यातायात र सञ्चार सेवा नहुँदा यो क्षेत्र भौगोलिक रूपमा निकै कठिन मानिन्छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय