काठमाडौँ — नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ अध्ययन र रोजगारीका सिलसिलामा विदेशिएका नेपाली दर्शक–श्रोतासँग भेटघाट गर्न पुनः विदेश यात्रामा निस्कने भएको छ। हालै क्यानडा र न्युजिल्यान्डको सफल प्रस्तुति सकेर स्वदेश फर्किएको ब्यान्ड अब आगामी जेठ १८ (जुन १) मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुति दिने तयारीमा छ।

क्वालालम्पुरस्थित ‘जेप क्वालालम्पुर’ रंगमञ्चमा हुने यो कन्सर्ट त्यहाँ बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरिएको हो। बुकित बिन्ताङ क्षेत्रमा रहेको उक्त स्थलले यसपटक पहिलोपटक नेपथ्यलाई स्वागत गर्न लागेको हो। यससँगै मलेसिया ब्यान्डको २०औँ अन्तर्राष्ट्रिय गन्तव्य र क्वालालम्पुर ५८औँ प्रस्तुति हुने सहर बन्नेछ।

करिब साढे तीन दशकदेखि सक्रिय नेपथ्यको यात्रा वैदेशिक श्रम र प्रवाससँग गहिरो रूपमा जोडिँदै आएको छ। जापान, हङकङ लगायतका देशमा भएका प्रारम्भिक अनुभवदेखि लिएर पछिल्ला वर्षहरूमा विश्वका विभिन्न सहरमा गरिएको प्रस्तुतिसम्म ब्यान्डले प्रवासी नेपालीको भावना र जीवनलाई आफ्नो संगीतसँग जोड्दै आएको छ।

ब्यान्डका मुख्य गायक अमृत गुरुङका अनुसार प्रवासमा रहेका नेपालीसँग प्रत्यक्ष भेटेर संगीतमार्फत स्वदेशको भावना बाँड्न पाउनु विशेष अवसर हो। उनले रेमिट्यान्समार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्‍याइरहेका श्रमिकहरूसँग सांगीतिक सम्बन्ध अझ मजबुत बनाउने उद्देश्य रहेको बताए।

आयोजक संस्था ‘आर्बिटरी इभेन्ट्स’ का अनुसार मलेसियामा बसोबास गर्ने नेपाली समुदायमा कन्सर्टप्रति ठूलो उत्साह देखिएको छ। टिकट बिक्रीदेखि लिएर दर्शक व्यवस्थापनसम्मका तयारीहरू तीव्र रूपमा अघि बढाइएको छ, र केही दर्शकका लागि घरसम्मै टिकट पुर्‍याउने व्यवस्था पनि मिलाइएको छ।

नेपथ्यले आफ्नो प्रस्तुतिको गुणस्तरमा निरन्तर एकरूपता कायम राख्ने लक्ष्यसहित यो यात्रामा पनि पूर्ण प्राविधिक तथा सांगीतिक टोली लिएर जाने जनाएको छ। व्यवस्थापन संस्था नेपालयका अनुसार दर्शकलाई उच्चस्तरीय सांगीतिक अनुभवसँगै नेपाली समुदायको सामूहिक उत्सवको अनुभूति दिलाउने तयारी गरिएको छ।

कन्सर्टमा अमृत गुरुङसँगै ध्रुव लामा (ड्रम), सुविन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड) लगायतको टोलीले प्रस्तुति दिनेछ। टिकट अनलाइन तथा स्थानीय माध्यमबाट समेत उपलब्ध गराइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय