जुम्ला — जुम्लाको क्रृणमोक्ष माध्यमिक विद्यालय, डिल्लीचौरमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू एकाएक बिरामी पर्न थालेपछि विद्यालयमा असामान्य अवस्था देखिएको छ। लगातार विद्यार्थीहरूमा रुने, कराउने, काम्ने र बेहोस हुने जस्ता लक्षण देखिएपछि स्थानीय प्रशासन तथा स्वास्थ्य निकायको ध्यान आकर्षित भएको हो।
गत बिहीबारदेखि सुरु भएको यो घटनामा ३२५ जना विद्यार्थीमध्ये ४० भन्दा बढी विद्यार्थीमा यस्ता लक्षण देखिएको विद्यालय प्रशासनले जनाएको छ। प्रारम्भिक रूपमा सामान्य ज्वरो वा मौसमी बिरामी जस्तो देखिए पनि क्रमशः मानसिक र व्यवहारिक लक्षणहरू—जस्तै अत्यधिक डराउने, चिच्याउने, काँप्ने र अचानक ढल्ने—देखिन थालेपछि अवस्था जटिल बनेको हो।
अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकीय टोली विद्यालयमै पुगेर विस्तृत स्वास्थ्य परीक्षण तथा मनोपरामर्श प्रदान गरेको छ। टोलीमा चिकित्सक डा. आलोक शाह र मनोपरामर्शदाता नन्दराज आचार्य सहभागी थिए। करिब तीन घण्टा लामो परामर्श तथा निरीक्षणका क्रममा विद्यार्थीहरूको अवस्था नजिकबाट अध्ययन गरिएको थियो।
मनोपरामर्शका क्रममा केही विद्यार्थीको अवस्थामा सुधार देखिए पनि धेरैजसोमा समस्या यथावत् रहेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक कृष्ण बुढाका अनुसार टोली फर्किएपछि केही विद्यार्थीमा पुनः लक्षण देखिन थालेको छ, जसले समस्या अझै पूर्ण रूपमा नियन्त्रणमा नआएको संकेत गर्छ।
“मनोपरामर्शपछि केही सुधार देखिएको थियो, तर पछि फेरि लक्षण दोहोरियो,” प्रधानाध्यापक बुढाले बताए। उनले धामीझाँक्रीदेखि चिकित्सकसम्मको प्रयास गर्दा पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको उल्लेख गर्दै एक हप्तासम्म विद्यालय बिदा दिने तयारी भइरहेको जानकारी दिए।
मनोपरामर्शदाता नन्दराज आचार्यका अनुसार विद्यार्थीहरूमा देखिएको समस्या मानसिक तनाव र सामूहिक मनोवैज्ञानिक प्रभाव (mass psychological reaction) सँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उनले प्रभावित विद्यार्थीलाई छुट्टाछुट्टै परामर्श दिइएको र समूहगत रूपमा पनि छलफल गरिएको बताए।
गम्भीर लक्षण देखिएका केही विद्यार्थीलाई थप उपचारका लागि अस्पताल लैजान सुझाव दिइएको छ। साथै विद्यालयलाई नियमित योग, ध्यान तथा मनोपरामर्श कार्यक्रम सञ्चालन गर्न पनि सुझाव दिइएको छ।
स्थिति बुझ्न पातारासी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पनि विद्यालय पुगेर अवस्थाको अवलोकन गरेका छन्। हाल विद्यालय प्रशासन, स्वास्थ्यकर्मी र स्थानीय तहको समन्वयमा समस्या समाधानका लागि थप उपायहरू अपनाउने तयारी भइरहेको छ।

