पोखरा — पोखराको सेती नदी खोँचमा हाम फालेका एक युवक मृत अवस्थामा फेला परेका छन्। पोखरा–१७ महतगौंडास्थित सेती खोँचमा हाम फालेर बेपत्ता भएका भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७ घारिपाटन बस्दै आएका ३४ वर्षीय मुकेश महतोको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले फेला पारी बाहिर निकालेको हो।
आइतबार साँझ करिब पौने १० बजेको समयमा महतोले सेती खोँचमा हाम फालेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल, २४ नम्बर कालिका गणको टोलीले तत्काल खोजी कार्य सुरु गरेको थियो। सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १८ जनाको उद्धार टोली राति अबेरसम्म खटिएको भए पनि अन्धकार र कठिन भूगोलका कारण शव फेला पार्न नसकेपछि रातिको खोजी कार्य स्थगित गरिएको थियो।
त्यसपछि सोमबार बिहान पुनः खोजी कार्य सुरु गरिएको थियो। सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो। बिहान करिब पौने १० बजेको समयमा टोलीले सेती खोँचको करिब २५० फिट गहिरो भागमा शव फेला पारेको हो।
दुर्गम र खतरनाक भूगोल भएकाले शव निकाल्नका लागि रोप रेस्क्यू (डोरीको सहायताले उद्धार) विधि प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ। लामो प्रयासपछि शव सुरक्षित रूपमा माथि निकालिएको थियो।
घटनापछि शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

