तेल अभिभ, बेइरुत — इजरायली सेनाले लेबनानभरि फेरि ठूलो मात्रामा हवाई आक्रमण सुरु गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहविरुद्धको सैन्य कारबाही अझ तीव्र बनाउने घोषणा गरेसँगै पछिल्ला दिनहरूमा आक्रमणहरू व्यापक रूपमा बढेका हुन्।

इजरायली सेनाले विशेषगरी पूर्वी लेबनानको बेका उपत्यका तथा अन्य विभिन्न क्षेत्रमा लक्षित हवाई हमला गरेको जनाएको छ। यी आक्रमणहरू हिजबुल्लाहका संरचना, लडाकु समूह र सैन्य गतिविधिलाई केन्द्रित गरेर गरिएको बताइएको छ।

यसैबीच, इरानको समर्थन प्राप्त लेबनानी सशस्त्र समूह हिजबुल्लाहले पनि इजरायलमाथि प्रतिकारात्मक हमला गरेको दाबी गरेको छ। समूहका अनुसार उसले इजरायली सेना, ट्याङ्क र सैन्य ब्यारेकहरूलाई लक्षित गर्दै २२ वटा ड्रोन र रकेट प्रहार गरेको हो।

केही समयअघि मात्र दुवै पक्षबीच ४५ दिनका लागि युद्धविराम विस्तार गर्ने सहमति भएको भए पनि त्यो सहमति व्यवहारमा लागू हुन नसकेको र संघर्ष पुनः तीव्र बनेको देखिन्छ।

प्रधानमन्त्री नेतान्याहुले हाल इजरायल पूर्ण रूपमा हिजबुल्लाहसँग युद्धमा रहेको बताउँदै सेनालाई “घातक र निर्णायक प्रहार” गर्न निर्देशन दिएका छन्। इजरायलका सरकारी स्रोतहरूले हालसम्मको कारबाहीमा ६०० भन्दा बढी हिजबुल्लाह लडाकु मारिएको दाबी गरेका छन्।

इजरायलका केही मन्त्रीहरूले भने यो सैन्य अभियानलाई अझ विस्तार गर्दै लेबनानको राजधानी बेरुतसम्म आक्रमण पुर्‍याउनुपर्ने माग समेत गरेका छन्, जसले तनाव झनै चर्किने संकेत देखाएको छ।

यो द्वन्द्व गत फेब्रुअरी २८ पछि अझ तीव्र बनेको मानिन्छ, जब अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए भन्ने विवरण सार्वजनिक भएको थियो। त्यसपछि इरानका शीर्ष नेताको मृत्युको बदला स्वरूप हिजबुल्लाहले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको बताइन्छ।

त्यसपछि इजरायलले लेबनानमा व्यापक सैन्य अभियान चलाएको हो। यस अभियानका क्रममा हालसम्म लेबनानमा ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। लगातारको बमबारीले लेबनानको मानवीय अवस्था गम्भीर बनेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय