नयाँदिल्ली — छायांकन सुरु हुन तीन साताअघि ‘डन ३’ फिल्मबाट मुख्य अभिनेता रणवीर सिंह बाहिरिएपछि उनीमाथि भारतीय फिल्म उद्योगको एक शक्तिशाली संगठनले बहिष्कार गर्ने निर्णय गरेको छ। करिब ४ लाख सदस्य रहेको फेडेरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज (FWICE) ले उक्त निर्णय गरेको हो।
फरहान अख्तरद्वारा लेखन तथा निर्देशन हुने ‘डन’ फ्रेन्चाइजको तेस्रो भाग सन् २०२३ मा घोषणा गरिएको थियो। यसमा रणवीर सिंहलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको भए पनि छायांकन सुरु हुने अन्तिम तयारीका क्रममा उनले ‘रचनात्मक मतभिन्नता’ देखाउँदै फिल्म छोडेपछि विवाद उत्पन्न भएको हो।
फिल्मका निर्माता फरहान अख्तर र रितेश सिद्धवानीले अभिनेताविरुद्ध इन्डियन फिल्म एन्ड टेलिभिजन डाइरेक्टर्स एसोसिएसन (IFTDA) मा उजुरी दिएका थिए। उनीहरूले अचानक फिल्म छोड्दा आर्थिक तथा मानसिक क्षति पुगेको दाबी गरेका छन्। उक्त उजुरीपछि विषय FWICE सम्म पुगेको थियो।
FWICE ले समस्या समाधानका लागि पटक–पटक वार्तामा आउन आग्रह गरे पनि कुनै प्रतिक्रिया नआएपछि बहिष्कारको निर्णय लिनुपरेको जनाएको छ। संगठनले देशभरका फिल्म तथा टेलिभिजन प्रोजेक्टहरूमा आफ्ना सदस्यहरूले रणवीर सिंहसँग काम नगर्ने निर्णय गरेको छ।
यस निर्णयसँगै उद्योगभित्र ठूलो बहस सुरु भएको छ, किनकि FWICE मा प्राविधिक, कलाकार, कर्मचारी तथा अन्य फिल्मकर्मी गरी ४ लाखभन्दा बढी सदस्य आबद्ध छन्।
यता, रणवीर सिंहका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ कि अभिनेताले यस विषयमा मौन रहनु नै उपयुक्त ठानेका छन्। वक्तव्यमा व्यवसायिकता, व्यक्तिगत सम्बन्धको मर्यादा, परिपक्वता र आपसी सम्मानलाई ध्यानमा राख्दै उनले संयमित दृष्टिकोण अपनाएको उल्लेख गरिएको छ।
प्रवक्ताले थप भनेका छन् कि अभिनेता आफ्नो कामप्रति पूर्ण प्रतिबद्ध छन् र हालको विवादलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको भए पनि आफू व्यावसायिक रूपमा अघि बढ्ने पक्षमा रहेको बताएका छन्।

