काठमाडौँ — इरानमा पक्राउ परेका १० जना भारतीय जहाज चालक दलका सदस्यलाई लामो कूटनीतिक पहलपछि रिहा गरिएको भारतले जनाएको छ । भारतको समुद्री यातायात महानिर्देशालयका अनुसार एमभी हार्बर फिनिक्स जहाजका ती चालक दलका सदस्यहरू जुलाई २०२५ मा इरानको जास्क बन्दरगाह नजिकैबाट पक्राउ परेका थिए । पक्राउपछि उनीहरूलाई केही समय हिरासतमा राखिएको थियो ।

महानिर्देशालयले जारी गरेको विज्ञप्तिमा चालक दलका सदस्यहरू अहिले सुरक्षित अवस्थामा रहेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काउने तयारी भइरहेको उल्लेख गरिएको छ । उनीहरूको रिहाइका लागि आवश्यक समन्वय प्रक्रिया अघि बढाइएको पनि भारतले जनाएको छ ।

इरानी सुरक्षा निकायहरूले खाडी क्षेत्रमा अवैध इन्धन ओसारपसारमा संलग्न जहाजमाथि निगरानी तथा कारबाही गर्दै आएको बताउँदै आएका छन् । यही क्रममा उक्त ट्याङ्कर पनि निगरानीमा परेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, चालक दललाई किन पक्राउ गरिएको थियो भन्नेबारे भारतले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

भारतले यो विषयमा सार्वजनिक रूपमा कम टिप्पणी गर्दै शान्त कूटनीतिक पहलमार्फत समाधान खोज्ने रणनीति अपनाएको थियो । जहाज ट्र्याकिङ वेबसाइटहरूका अनुसार एमभी हार्बर फिनिक्स पलाउ झण्डा बोकेको तेल उत्पादन ट्याङ्करका रूपमा दर्ता गरिएको जहाज हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय