मित– लोकसंस्कृतिमा आधारित एक अत्यन्त शक्तिशाली सामाजिक सम्बन्ध हो, जुन रगतको नाताभन्दा बाहिर भए पनि सबैभन्दा आत्मीय, भरोसायोग्य र नजिकको सम्बन्ध मानिन्छ। नेपाली लोकसंस्कृतिमा दुई सम्बन्धलाई समान स्तरको रूपमा लिइन्छ– मित र सम्धी। मित सम्बन्धमा केवल दुई व्यक्ति मात्र होइन, मितकी श्रीमतीलाई पनि मितसरह नै सम्मान दिइन्छ। सम्धीबाट सम्धीज्यू बनेझैँ, मितबाट मितज्यू भन्ने सम्बोधन चलनमा आउँछ। यही ‘मित’ शब्दसँग जोडिएको चलचित्र अहिले देशभर प्रदर्शनमा छ– ‘मितज्यू’। दयाहाङ राई र सौगात मल्लको अभिनय रहेको यस चलचित्रमार्फत टेरिया मगरले धमाकेदार डेब्यु गरेकी छन्। नाम सुन्दा चलचित्रले मितकै कथालाई केन्द्रमा राखेको जस्तो लागे पनि, यसले अन्य तहका कथाहरू पनि बोकेको हुनसक्छ। यहाँ म चलचित्रको कथाभन्दा पनि त्यसका निर्माताको जीवनकथा भन्न खोज्दैछु; जो युवावस्थामै ह्वीलचेयरमा जीवनको दोस्रो अध्याय बाँचिरहेका छन्। छातीमुनिका अंगहरू आँखाले देख्न त देख्छन्, तर अनुभूत गर्न सक्दैनन्– ती आफ्नै हुन् कि अरूका भन्ने भेद नै हराइसकेको छ।

यो वास्तवमै दोस्रो जीवन हो। मृत्युको नजिक पुगेर फर्किएर पुनः जीवन सुरु गरेका व्यक्ति हुन्– रोल्पा खुमेलका जनक घर्तीमगर। आफ्नो पहिलो जीवनमा उनले चलचित्र ‘घरज्वाइँ’ निर्माण गरेका थिए। त्यस समयमा उनी क्रेटा कार हुइँक्याउँदै चलचित्रको काम सक्ने दौडमा थिए। तर दोस्रो जीवनमा उनी गाडीको सिटमा होइन, ह्वीलचेयरमा छन्। छातीमुनिको शरीर निष्क्रिय भए पनि उनका सपना अझै सक्रिय छन्, जिउँदो छन्, बलियो छन्। पहिलो जीवनमा चलचित्र निर्माणप्रतिको उनको भोकले पुनः जन्म लिएर अर्को परियोजना बनायो– ‘मितज्यू’, जसमा तीन करोडभन्दा बढी लगानी गरिएको छ।

भक्तपुर र काभ्रेको सिमाना साँगामा रहेको ‘स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्र’मा मेरो नियमित आवतजावत चलिरहेको थियो। २०८१ भदौ १७ गते दुर्घटनामा परेर स्पाइनल कर्ड इन्जुरी भएकी मेरी माइली बहिनी सविना त्यहीँ तीन महिनादेखि उपचाररत थिइन्। उक्त पुनर्स्थापना केन्द्र एउटा परिवारजस्तै वातावरण भएको ठाउँ हो, जहाँ विभिन्न प्रकारका स्पाइनल कर्ड इन्जुरीका बिरामीहरू बस्छन्। प्रायः सबैको शरीरको तल्लो भाग पूर्ण रूपमा पक्षाघात भएको हुन्छ। खुट्टा चल्दैनन्, कतिपयको हातसमेत काम गर्दैन। उनीहरू ह्वीलचेयर, वाकर र एल्बो क्रचेजको सहारामा जीवन बिताइरहेका हुन्छन्। त्यहाँ आएका मानिसहरूको भूगोल फरक, जात फरक, लिङ्ग फरक भए पनि उनीहरूको पीडा भने समान हुन्छ।

त्यहाँका बिरामीका परिवार र आफन्तहरूको कथा पनि लगभग एउटै छ। बिरामीको छेउमा ‘ठीक हुन्छ, नआत्तिनु, हामी साथ छौँ’ भनेर हौसला दिनेहरू प्रायः एकान्तमा पुगेपछि आँसु थाम्न सक्दैनन्। उनीहरू आफ्ना पीडा पोख्दै हल्का हुने प्रयास गर्छन्, तर भित्रभित्रै गहिरो चोट बोकेका हुन्छन्।

०००

मेरुदण्डको नसा गम्भीर रूपमा क्षतिग्रस्त भएपछि शरीरका अंगहरू चल्न वा महसुस गर्न सक्दैनन्। यस्तो अवस्थामा बिरामीलाई लामो समयसम्म निरन्तर हेरचाह र सहयोग आवश्यक पर्छ। मेरी कान्छी बहिनीले आफ्नी दिदीको स्याहारका लागि आफ्नो जागिर नै त्यागिन्। पुनर्स्थापना केन्द्रमा हरेक साँझ नयाँ बिरामी को आयो, को घर फर्कियो, को कस्तो अवस्थामा आयो र कस्तो अवस्थामा फर्कियो भन्ने विषयमा निरन्तर कुराकानी चलिरहन्थ्यो।

२०८१ सालको पुस मध्यतिर म बहिनीका लागि खाना लिएर साँगास्थित केन्द्रमा पुगेको थिएँ। त्यही बेला मेरी कान्छी बहिनीले भनिन्, ‘दाइ, रोल्पाबाट एक जना आएका छन्, घरज्वाइँ फिल्म बनाउने मान्छे रे!’ यो कुरा सुनेर म छक्क परेँ। त्यही व्यक्तित्व– जनक घर्तीमगर, त्यसै पुनर्स्थापना केन्द्रको माथिल्लो तलामा छिमेकी बिरामीका रूपमा आइपुगेका रहेछन्। स्पाइनल कर्ड इन्जुरी भन्ने कुरा कसैका लागि पनि सहज नहुने सत्य हो, शत्रुका लागि पनि कामना नगरिने अवस्था हो।

०००

शरीर हल्लिन नसक्ने अवस्थामा पल्टिरहेका जनकसँगको भेटको कथा भन्नुअघि आफ्नी बहिनीको दुर्घटनाको कथा जोड्न मन लाग्छ। किनकि कथा केवल कथा होइन, पीडाको विशाल संग्रह हो। २०८१ साल भदौ १७ गते अपराह्न म सिंहदरबारभित्र काममा थिएँ। अचानक साथी वीरबहादुर घर्तीको फोन आयो– ‘हामी दुर्घटनामा पर्‍यौँ, सविना तल भीरमा खसेकी छ, वडाध्यक्षलाई खबर गर।’ त्यो खबर सुन्दा मलाई पहिलो क्षणमै बहिनी हामीसँग छैनन् भन्ने लाग्यो। पहिरोबाट मोटरसाइकलसहित खसेको अवस्थामा बाँच्ने आशा अत्यन्त कम हुन्छ।

तर केही समयपछि उद्धारको खबर आयो– उनको शरीरभरि घाउ, कम्मरमुनि भाग चल्दैन, छोएको पनि महसुस हुँदैन। लिबाङ र भैरहवा हुँदै ट्रमा सेन्टरमा पुर्‍याइएपछि थाहा भयो– स्पाइनल कर्ड इन्जुरी, टी–१० मा पूर्ण क्षति।

टी–१० मा पूर्ण क्षति भनेको के हो? चिकित्सकहरूले भने– अब जीवन ह्वीलचेयरमै सीमित हुनेछ। भाँचिएको हड्डी निकाल्ने, स्टिल राख्ने र पुनर्स्थापनाको प्रक्रिया अपनाउनुपर्नेछ।

तर उनी होसमा थिएनन्, लगातार एउटै कुरा दोहोर्‍याइरहेकी थिइन्– ‘मलाई बचाउनुस्।’ हिजोसम्म दौडिने बहिनी अचानक ह्वीलचेयरमा सीमित हुने सत्य मेरो आँखाअगाडि थियो।

०००

त्यो समयमा हामीले उनलाई आश्वस्त पार्ने प्रयास गर्यौँ– ‘सबै ठीक हुन्छ।’ घरमा आमा निदाउन सकिनन्, आँसु रोकिएन। परिवार र छिमेकी सबै भावुक थिए। म बाहिर बलियो देखिए पनि एक्लै हुँदा भित्रभित्रै भाँचिन्थेँ, धेरै पटक ट्रमा सेन्टरमा लुकेर रोएँ।

बहिनीलाई मानसिक रूपमा बलियो बनाउन हामी निरन्तर हौसला दिइरहन्थ्यौँ। शल्यक्रिया सम्पन्न भयो, त्यसपछि उनलाई काभ्रेको पुनर्स्थापना केन्द्रमा पठाइयो। त्यहाँ उनी सुरुमा बेडमै पल्टिरहन्थिन्, आफैँ घुम्न वा बस्न पनि सक्दिनथिन्।

दुई जनाको सहाराबिना उनको शरीर पल्टाउन पनि सकिँदैनथ्यो। शौच, सरसफाइ, हेरचाह सबैमा निरन्तर सहयोग चाहिन्थ्यो।

०००

भदौको अन्त्यदेखि माघको मध्यसम्म उनी त्यही केन्द्रमा थिइन्। समयसँगै, थेरापी र आत्मबलको माध्यमबाट उनको अवस्था बिस्तारै सुधार हुन थाल्यो। त्यहाँ एक प्रेरणादायी चिकित्सक छन्– डा. राजु ढकाल, जो आफैँ पोलियोका कारण ह्वीलचेयरमा भए पनि अरूलाई जीवन जिउन सिकाइरहेका छन्।

उनको सबैभन्दा ठूलो खुशी भनेकै बिरामी मुस्कुराउँदै घर फर्किनु हो। मेरी बहिनी बिस्तारै ह्वीलचेयरबाट वाकर हुँदै एल्बो क्रचेजसम्म आइपुगिन्। अहिले पनि ‘एएफओ’को सहायतामा खुट्टा नियन्त्रण गर्दै हिँड्ने अभ्यास गरिरहेकी छन्।

०००

टी–१० मा पूर्ण क्षति भए पनि एल्बो क्रचेजसम्म पुग्नु चिकित्सकहरूको नजरमा ठूलो उपलब्धि हो। यसलाई उनीहरूको मेहनत, धैर्य र आशावादिताको परिणाम मानिन्छ।

पुनर्स्थापना केन्द्र केवल उपचारस्थल मात्र होइन, जीवन बुझाउने विद्यालय पनि हो। त्यहाँ बिरामी र परिवारहरू एउटै परिवारजस्तै बन्छन्, एकअर्काको पीडा आफ्नै जस्तो महसुस हुन्छ।

०००

त्यही केन्द्रको एक कोठामा मैले जनक घर्तीमगरलाई भेटेँ। उनी आफैँ पल्टिन सक्दैनथे, आमा र श्रीमतीले सहयोग गरिरहेका थिए। उनको अवस्था देखेर म मौन भएँ। सान्त्वना दिनु बाहेक अरू केही गर्न सकिनँ।

मैले बहिनीको अनुभव सुनाएँ। जनककी आमाले त्यसबाट आशा पाइन्। तर जनकको अवस्था हेरेर म भित्रभित्रै असहज थिएँ। उनीहरूको आशा र मेरो मौनता एउटै कोठामा मिसिएको थियो।

०००

जनक बुटवलबाट दाङ जाँदै गर्दा कार दुर्घटनामा परेका थिए। कार रूखमा ठोक्किँदा गम्भीर चोट लाग्यो। शल्यक्रियापछि उनको टी–४ र टी–५ मा पूर्ण क्षति भएको पुष्टि भयो।

उनी बेडमै सीमित भए पनि उनको मन अझै सक्रिय थियो। उनले भविष्यका योजनाबारे कुरा गर्न छोडेनन्। ‘म अर्को फिल्म बनाउँछु’ भन्ने उनको आत्मविश्वास अचम्मको थियो।

०००

पुनर्स्थापना केन्द्रले शरीर मात्र होइन, जीवन स्वीकार गर्न सिकाउँछ। त्यहाँ जीवन फेरि सुरु गर्न सिकाइन्छ। जनकले केही दिनमै आफ्नो अवस्था स्वीकार गरिसकेका थिए।

०००

यस्ता दुर्घटनाले शरीर मात्र होइन, सपना र भविष्य पनि बदलिदिन्छन्। तर जसले वास्तविकता स्वीकार गर्छ, ऊ ढले पनि फेरि उठ्न सक्छ।

जनक र मेरी बहिनीको कथा एउटै पाठ हो– जीवन समाप्त हुँदैन, केवल रूप बदलिन्छ।

०००

जनकले बनाएको चलचित्र ‘मितज्यू’ केवल फिल्म होइन, संघर्षको प्रतीक हो। उनी आफैँ ह्वीलचेयरमा भए पनि ठूलो सपना बोकेर अघि बढिरहेका छन्।

उनी भन्छन्– ‘म चलचित्रका लागि जन्मेको हुँ।’

०००

यो कथा केवल जनक वा मेरी बहिनीको होइन, हजारौँ स्पाइनल कर्ड इन्जुरी पीडितहरूको साझा कथा हो। उनीहरूको संघर्ष, आशा र पीडा समाजले बुझ्न जरुरी छ।

सरकार र समाज दुवैले उनीहरूलाई केवल बिरामी होइन, मितको रूपमा स्वीकार गर्नुपर्छ– जहाँ प्रेम, सहयोग र सम्मान बराबरीमा हुन्छ।

०००

आज जनक घर्तीमगरले ह्वीलचेयरमै बसेर ‘मितज्यू’ निर्माण गरेका छन्। तर एक दिन उनको संघर्षको कथा पनि फिल्म बन्नुपर्छ।

किनकि यो केवल एउटा व्यक्तिको होइन, हजारौँ मानिसहरूको साझा सपना हो।

०००

मेरी बहिनीलाई मैले भनेको छु– ‘तिम्रो दुईवटा जन्मदिन छन्।’

जनकलाई पनि मैले भनेँ– ‘तिम्रो दुर्घटनाको दिन तिम्रो दोस्रो जीवनको जन्मदिन हो।’

अब नजिकको हलमा गएर ‘मितज्यू’ हेर्नुहोस्, यो केवल फिल्म होइन, जीवन पुनर्जन्मको कथा हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय