नुवाकोटमा रहेर लामो समयदेखि साहित्य लेखन र साहित्यिक गतिविधिमा सक्रिय रहँदै आउनुभएकी कवि तथा गजलकार सुमित्रा सुमी आफ्नो पहिलो कविता सङ्ग्रह ‘कलेजी बर्को’ लिएर हामीमाझ आउनुभएको छ । गत वैशाख १९ गते नुवाकोटमा आयोजित एक भव्य समारोहका बीच सो कविता सङ्ग्रह विमोचन गरिएको थियो ।

साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष समेत रहनुभएकी कवि/गजलकार सुमीको यसअघि दुईओटा गजल सङ्ग्रह “एक्लो कुसुम” (२०६३) र ‘नदेखिएका स्वप्नहरू’ (२०७१) प्रकाशित छन् । त्यसदेखि बाहेक उहाँका कविता र गजलका अन्य थुप्रै संयुक्त कृति प्रकाशित छन् । यसका साथै उहाँको एउटा साङ्गीतिक गजल पनि बजारमा आइसकेको छ ।

गजल र कविताका अलवा कथा, गीत, हाइकु तथा मुक्तक विधामा समेत सशक्त रुपमा कलम चलाउँदै आउनुभएकी सुमी लामो समयदेखि शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।

भर्खरै बजारको आएको उहाँको कविता सङ उहाँको लेखनसँग सम्बन्धित रहेर केही कुराकानी गर्ने कोशिश गरेको छु । अब प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश….

१) साहित्य लेखनको लामो समयपछि पहिलो कवितासङ्ग्रह लिएर आउनुभएको छ, कस्तो लागिरहेको छ ?

– एकल कविता सङ्ग्रहको रूपमा “कलेजी बर्को” पहिलो काव्य कृति जस्तो देखिए पनि मेरो लेखन सुरुवातको विधा कविता नै हो । कविता भनेर बुझ्दा नबुझ्दै २०५२/०५३ सालदेखि लेख्न थालिए पनि कविताहरू यस्ता हुनुपर्ने रहेछ भनेर थोर बहुत बुझ्न सक्ने भएपछिको आफ्ना कविताहरुलाई सङ्ग्रहित गरेर यहाँहरू समक्ष पस्किन पाउँदा असाधै खुशी छु । अझ अर्को कुरा अब कविता सङ्ग्रह प्रकाशन गर्नुपर्छ भनेर बढो मिहिनेतकासाथ लेखिएको र छनोट गरेर बनाइएको “कलेजी बर्को” मेरो मात्र नभएर धेरै पाठकहरूको जीवनको एउटा कथा हो । जीवन र समाजसँग नजिकिएको अर्को पाटो हो जस्तो लागेर पनि होला, मेरो मन अत्यन्तै हर्षित छ ।

२) साहित्यिक बजारबाट अथवा भनौँ पाठकहरुबाट प्रतिक्रिया चाहिँ के कस्ता प्राप्त भइरहेका छन् ?

– पाठक एवं मेरा शुभचिन्तकहरूको माग अनुसार उहाँहरू समक्ष पुस्तक पुर्‍याउन सकिरहेको छैन । तर पनि जति काव्यप्रेमीहरुले मेरो कविताहरू पढ्नुभयो, समीक्षा लेख्नुभयो, समालोचना गर्नुभयो, उहाँहरूको अनुसार उत्कृष्ट कव्य कृति बनेको छ भन्नुहुन्छ ।

३) “कलेजी बर्को” सङ्ग्रहको नाममा कसरी चयन हुन सफल भयो ?

– कलेजी एउटा रङ हो । प्राय : बौद्ध भिक्षुहरुले प्रयोग गरेको देखेको छु । यो रङको आफ्नै पहिचान छ । कलेजी चीवरका साथमा मान्छेको शान्ती जो कोहीलाई पनि मन पर्छ । मलाई पनि मन पर्छ । रातो मन नपराउनेहरुले पनि कलेजी छान्नुहुन्छ । हाम्रो शरिरको महत्वपूर्ण अङ्ग कलेजोको रङ कलेजीसँग मिल्छ । प्रिय व्यक्ती, वस्तुलाई कलेजोको टुक्रा भन्ने चलन पनि छ ।

यस कृति मेरो लागि धेरै समय लगाएर तयार पारेको र आफ्नो जीवनको अर्को पाटो मानिएकोले पनि कलेजी राखौँ भन्ने भयो । र अर्को कुरा, बर्कोको अर्थ नेपाली नारीहरुले टाउको ढाक्न प्रयोग गरिने चुनरी या पछ्यौरीजस्तो कपडा हो । बर्कोभित्रकी नारी, चीवरभित्रकी नारीको शान्त तलाउ फुटेपछिको अवस्था लगायत धेरै कुराको कल्पना गरेर तयार पारिएको हो । पुस्तकको आवरण पृष्ठ हेरेर पनि धेरै कुरा बुझ्न सकिन्छ जस्तो लाग्छ ।

४) तपाईंका कविताहरूले बोकिल्याएको मूल सन्देश चाहिँ के हो ?

– सृष्टि एउटै भएपनि फरक फरक आँखाका फरक फरक दृष्टि हुन सक्छन् । कविता सङ्ग्रह पढेपछि धेरै कुरा आउलान् । तर मेरो कृतिमा म बाँचेको समाज, मैले देखे भोगेका वास्तविक  जीवन र कसैले देख्न नसकेको र सबैले स्वीकारेको प्रेमको सिलसिला कवितामा छ । भोगिएका कुरा समेत लुकाउने समाजमा मैले नभोगेका कुरा पनि देखाएको छु । कति कवितामा पाठकहरुलाई ओहो ! यस्तो पनि कसरी लेख्न सकेको ? समाजले के भन्छ भन्ने पनि लाग्न सक्छ । तर कविहरू कविता लेख्दा बाँधिनु हुँदैन भन्ने मेरो आफ्नै मान्यता पनि छ । त्यसैले मेरा कविताहरू प्रष्ट छन् ।

५) दैनिक जीवनका तमाम व्यस्तताका बाबजुद पनि लामो समयदेखि लेखन र साहित्यिक गतिविधिमा निक्कै सक्रिय रहँदैआउनुभएको छ । “सिर्जनात्मक कर्मका लागि समय निकाल्नै गाह्रो छ” भन्ने महिला सर्जकहरुका लागि एउटा गतिलो उदाहरण बन्नुभएको छ । साहित्यकार तथा प्राध्यापक डा. देवी नेपालले पनि कृतिभित्र शुभकामना लेख्ने क्रममा यो कुरालाई खुलेरै प्रशंसा गर्नुभएको छ । तपाईं आफैँ चाहिँ के भन्नुहुन्छ यसबारेमा ?

– आफ्नो बारेमा आफैँले धेरै गरेको छु त के भन्नू ? तर पनि समयलाई पनि जित्न सक्ने कुरा स्वयं व्यक्तिको इच्छा शक्ति हो । रोपेको सबै फल्छ भन्ने छैन । तैपनि आफ्नो सत्कर्मप्रतिको विश्वास र कामप्रतिको निरन्तरताले उनान्सय दशमलव उनान्सय प्रतिशात म सफल छु । मलाई गर्न मन लागेको काम म समयमा नै भ्याउन सक्छु ।

६) यस अघि दुई ओटा गजल सङ्ग्रह प्रकाशनपछि कविता सङ्ग्रह लिएर आउनुभएको छ । यो अन्तरालमा तपाईं आफैँले महसुस गरेको आफैँभित्रको परिवर्तन चाहिँ के हो ?

–  उमेर र जीवन जिउने क्रममा आफूभित्रको ज्ञान र क्षमतालाई अझ नजिकबाट चिन्न सिकेँ । आफू बाँचेको समाज र अहिलेको मान्छेको प्रवृत्ति अलि बढी बुझ्न सकेँ । त्यस्तै साहित्य लेखनमा पनि सैद्धान्तिक ज्ञान बुझ्न कोसिस गर्दैछु । कविताभित्रको जिउँदो कविता खोज्न जानेँ । यसकै परिणाम पनि हो “कलेजी बर्को ।”

७) सङ्ग्रहभित्र भूमिका लेख्ने क्रममा तपाईंले भन्नुभएको छ, “लेखक साँघुरियो भने कविता मर्छ । कविता मार्नु लेखकको धर्म होइन ।” त्यसैको तलपट्टी तपाईं फेरि भन्नुहुन्छ, “यति भन्दाभन्दै पनि कति कुरा जस्ताको त्यस्तै शब्दमा उतार्न चाहेर पनि सकेकी छैन ।” आफैँले पूरा गर्न नसकेको आदर्श ज्ञान अरुलाई चाहिँ किन बाँड्नु भएको ?

– आदर्श बाँडेको नसम्झनुहोला, मेरो अनुरोध छ । त्यो भनाइ मेरो भोगाइ हो । वास्तविकता पनि हो । सबैका भोगाइ उस्तै हुँदैनन् । म आफू बाँचेको समाज राम्ररी बुझ्छु । समाजभन्दा बाहिर रहेर बाँच्न सकिन्न, म पनि सक्दिनँ । कति कुरा वास्तविक भएर पनि, बोल्न सक्ने भएर पनि बोल्न नमिल्ने हुन्छ । यत्ति बुझिदिनुहोला कि उमेरमा समान भएपनि दाजु र श्रीमानको स्थान फरक हुन्छ । सकारात्मक सोचाइ, बुझाइ सबै रोगको औषधि हो । त्यसैले सकारात्मक सोचौँ,  बुझौँ न,  हुन्न ?

८) तपाईंको लागि कविता के हो ?

–  कविता सिङ्गो जीवनको एउटा अर्को पाटो हो । कविताबाट सुमित्रा सुमी अलग रहिन् भने एउटा मात्र पाटोले अधुरो हुन्छ ।

९) समाज रुपान्तरणको एउटा पाटो साहित्य सिर्जना पनि हो भनिन्छ । आफ्नै सिर्जनाहरुमाथि ठेकेर भन्नुपर्दा, यो कुरामा तपाईं कति विश्वास राख्नुहुन्छ ?

–  मैले भोगेको भन्दा पनि सिङ्गो समाजले भोगिरहेको कुरासँग पात्र म आफैँ बनेर महसुस गर्दै लेख्छु । मेरो कविताहरूले पनि समाज देखाएको छ । परिवर्तनको बाटो खोजेको छ । मेरा कविताले संसार बदल्न त नसक्ला । तर समाजलाई सही मार्गनिर्देशन गर्न सहयोग चाहिँ अवश्य पुर्‍याउँछ ।

१०) बजारीकरणका हिसाबले हेर्दा नेपाली कविताको बजार कस्तो देख्नु हुन्छ अहिले ?

– अहिलेको समय विज्ञापनको छ । जसले जति बेसी राम्रोसँग विज्ञापन गर्न सक्यो, त्यति नै ऊ राम्रो देखिने समय आएको छ । यहाँ, राम्रा कविताभन्दा पनि हाम्रा कवि र कविताको चर्चा छ बजारमा । के बोल्नू खै यो प्रश्नमा मैले ? हामी सबैले देखे भोगेको कुरा हो, बजार कस्तो छ भनेर ।

११) “आगोले बस्ती जलाउँछ

गुलाफले हृदय जलाउँछ

र जलाउँछ

सिन्दुरले कसैको जिन्दगी”…

यो त भयो तपाईंको कविताको कुरा । तपाईंको व्यक्तिगत अनुभवले चाहिँ प्रेम र विवाहलाई कसरी परिभाषित गर्छ ?

– प्रेम ईश्वर हो, बिवाह संस्कार हो । प्रेमको निश्चित आयु, खास परिस्थिति र अवस्था हुँदैन । प्रेम अविनासी पनि छ । साँचो प्रेम शाश्वत सत्य पनि हो । तर बिवाहको दायरा हुन्छ । बिवाह परम्परा पनि हो । प्रेम, बिवाहबिना पनि बाँच्न सक्छ । तर बिवाह, प्रेमबिना मर्छ । प्रेम र बिवाह दुबै मिल्यो भने जीवन पूर्ण हुन्छ ।

१२) जाँदाजाँदै अन्त्यमा केही ?

– तपाईंको अपेक्षा अनुसार जावाफ दिन सकेँ, सकिनँ ! आफ्ना कुराहरु राख्ने यो महत्वपूर्ण अवसरको लागि तपाईं र साहित्यपोस्ट परिवाप्रति कृतज्ञ छु । “कलेजी बर्को” किनेर पढिदिनुहुन र पढिसकेपछि प्रतिक्रिया दिनुहुन मेरा कविताप्रेमी शुभचिन्तकहरुमा अनुरोध गर्दछु । जय साहित्य ।

सङ्ग्रहभित्रबाट शीर्ष कविता….

कलेजी बर्को

 

तिम्रो स्पर्शमा

रातो पिरो भएको सम्झन्छु

कति मुखले बोलेँ होला

कति आँखाको इसारामा सिमित भयो

नबोलेका कति कुरा

भन्न नभ्याउँदै चुँडियो मनको तार

तर कहिल्यै टाढा पठाउन सकिनँ

तिमीले पहिलो भेटमै दिएको

कलेजी बर्को

तिम्रो साथमा प्रेमले पागल भएकै हुँ

तिम्रो बिछोडमा होस गुमाएको छु

अझै पनि एक तमास

तिमी खोजिरहेको छ आँखाले

आँसु जति बगेपनि

आँसुले याद नबगाउँदो रहेछ

बिर्सन्छु भनेर पनि

झन सम्झिरहेको छु

यादहरूको पहाडमा

ओढेर कलेजी बर्को

बधशालाका कर्दमा

कोलाहल क्रुरता मात्र रहेछ

रेटिरेटी मारियो

दुख्यो भन्न पाइएन

रुन, चिच्याउन पाइएन

सहनु धर्म हो रे अचानोको

र त घरीघरी जिउँदो प्रेम टुक्र्याएर

अचानोलाई लगाइदियौ

मेरै रगतको सिन्दुर, टीका

कलेजी बर्कोमा पर्ने गरी

एक पटक सोध्न मन छ

तिमीले रुवाएको आँसु पुछ्न कि

पासो लगाएर आत्महत्या गर्न

दिएका थियौ

यो कलेजी बर्को ?

बीचैमा च्यातियो सम्बन्धको बर्को

आधा पर क्षितिजमा पुगेर

मेरो अधमरो प्रेम

मेरै खिल्ली उडाउँछ

अनि अर्को आधा बर्को

मेरो आँसु नपुछेर

मेरै घाँटीको पासो बनेको छ

यतिबेला

तिमीले दिएको कलेजी बर्कोलाई

चीवर सम्झूँ कि कात्रो ?

मेरो हृदय फुटाएर बाघचाल खेल्यौ

हृदयबाट जन्मनुपर्ने प्रेम

रोपेर अङ्कुराउँदै गर्दा

नजन्मदै मुर्दा भयो

कलेजी बर्कोले

पीडा छोपूँ कि

पीडाले पगालेको आँसु ?

न भुल्न सक्छु

न सम्झन मिल्छ मैले

मलाई मेरै सहनशीलताले पोल्न थाल्यो

मभित्रको धैर्यताले चिथोर्न थाल्यो

मुटु फुटेर ज्वालामुखी निस्केला झैँ भयो

मलाई स्वयं म भएर बाँच्न मन लाग्यो

अब भन

बुद्धले मसाल बोके के होला ?

म आफ्नै अस्तित्व सकेर

हिटलर बनूँ त ?

बुद्धत्व लुकाएर

यो कलेजी बर्कोमा ?

(समाप्त)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय