काठमाडौं/भैरहवा । आकर्षक रोजगारी, उच्च आम्दानी र वैदेशिक अवसरको झूटा आश्वासन देखाएर भारत लगिएका नेपाली नागरिकलाई त्यहाँ शारीरिक तथा मानसिक यातना दिँदै जबर्जस्ती नेटवर्किङ व्यवसायमा संलग्न गराइएको ठूलो मानव तस्करी तथा ठगी प्रकरण सार्वजनिक भएको छ । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट साढे चार सयभन्दा बढी नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाका अनुसार विभिन्न सामाजिक सञ्जाल, एजेन्ट तथा व्यक्तिगत सम्पर्कमार्फत बेरोजगार युवालाई लक्षित गर्दै गैरकानुनी कम्पनीहरूले रोजगारीका नाममा भारत बोलाउने र पछि नेटवर्किङ व्यवसाय तथा पिरामिड शैलीको ठगी प्रणालीमा संलग्न गराउने गरेको सूचनाका आधारमा दूतावास सक्रिय बनेको हो । प्राप्त सूचनापछि दूतावासको विशेष टोली कुशीनगर पुगेर उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था ‘किन इन्डिया’को सहकार्यमा उद्धार प्रक्रिया अघि बढाइएको थियो । सो क्रममा शुक्रबार राति ४ सय ५३ जना नेपाली नागरिकलाई उद्धार गरिएको हो ।

उद्धार गरिएकामध्ये १ सय १५ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् । उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसमार्फत शनिबार बिहान नेपाल ल्याई दूतावासका प्रतिनिधिहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए । प्रारम्भिक छानबिन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि तीमध्ये १ सय ९ महिला र ३ सय २५ पुरुष गरी ४ सय ३४ जनालाई प्रहरीको नियन्त्रणबाट मुक्त गरिएको छ भने बाँकी ६ महिला र १३ पुरुष गरी १९ जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका व्यक्तिहरू १८ देखि ५५ वर्ष उमेर समूहका विभिन्न जिल्लाका नागरिक रहेको पुष्टि भएको छ । हाल उनीहरूको विस्तृत विवरण संकलन तथा थप अनुसन्धान रूपन्देही प्रहरीले अघि बढाएको छ । कुशीनगर क्षेत्रमा ठूलो संख्यामा नेपाली नागरिकलाई बन्धक बनाएर राखिएको र उनीहरूको परिवारलाई फोनमार्फत फिरौतीसमेत माग गरिएको सूचना प्राप्त भएपछि दूतावास, उत्तर प्रदेश प्रहरी, लुम्बिनी प्रदेश प्रहरी तथा रूपन्देही प्रहरीबीच समन्वय गर्दै चार दिन लामो संयुक्त अपरेसन सञ्चालन गरी उद्धार गरिएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

कार्यवाहक राजदूत डा. थापाका अनुसार चिनेजानेका व्यक्तिहरूले नेपालका विभिन्न जिल्लाबाट बेरोजगार युवालाई लक्षित गर्दै रोजगारीका नाममा बिहार तथा उत्तर प्रदेशका विभिन्न स्थानमा बोलाउने गरेको पाइएको छ । उनले बताएअनुसार सुरुमा आकर्षक रोजगारीको प्रलोभन देखाइ केही हप्तासम्म प्रशिक्षण दिने र त्यसपछि उनीहरूकै माध्यमबाट थप नेपाली नागरिकलाई नेटवर्कमा भित्र्याउने गरिएको थियो । साथै ‘रजिस्ट्रेसन शुल्क’को नाममा प्रत्येक व्यक्तिबाट रकम असुली गर्ने र पिरामिड शैलीको संरचना निर्माण गर्दै आर्थिक लाभ उठाउने कार्य भइरहेको उनले बताए ।

उनका अनुसार सुरुवातमा मासिक २५ हजार भारुसम्म तलब दिने आश्वासन दिइन्थ्यो भने तालिम अवधिमा बस्ने र खाने नाममा अतिरिक्त शुल्कसमेत असुल गरिन्थ्यो । यसरी एकपछि अर्को व्यक्ति जोड्दै रकम उठाउने संगठित ठगी प्रणाली सञ्चालन गरिएको देखिएको छ । रोजगारी र व्यापारमार्फत राम्रो आम्दानी हुने प्रलोभन देखाएर ठूलो रकम संकलन गरेपछि न काम दिइन्थ्यो, न त खाना तथा बसोबासको उचित व्यवस्था गरिन्थ्यो, बरु पीडितहरूलाई मानसिक दबाब दिइन्थ्यो ।

किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार प्राप्त सूचनाको आधारमा प्रारम्भिक निगरानी (रेकी) पछि उत्तर प्रदेश प्रहरीसँग समन्वय गर्दै विभिन्न स्थानमा छापा मारिएको थियो । उनले बताएअनुसार राति १२ बजेदेखि बिहान साढे ४ बजेसम्म ८ वटा घरमा गरिएको संयुक्त छापामार कारबाहीबाट ठूलो संख्यामा नेपाली नागरिकलाई उद्धार गरिएको हो । ती स्थानहरूमा समूहगत रूपमा नेपालीलाई राखिएको थियो, जसमा केही महिनौँदेखि बस्दै आएका थिए भने केही केही दिनअघि मात्र पुगेका थिए ।

उद्धार गरिएकालाई आठवटा भारतीय बसमार्फत एकैसाथ नेपाल पठाइएको र दूतावासका अधिकारीहरूले नेपाल प्रहरीलाई जिम्मा लगाएको जानकारी कन्सुलर एसएसपी प्रकाश मल्लले दिए । प्रारम्भिक अनुसन्धानमा नेपालबाट आएका केही समूहहरूले भारतमा नेटवर्किङ व्यवसायलाई वैध रूपमा सञ्चालन गरिरहेको देखिए पनि यसभित्र ठगीको संरचना लुकेको पाइएको उनले बताए ।

मिनिस्टर कन्सुलर अम्बिका जोशीका अनुसार पीडितहरूलाई साँघुरा र अस्वस्थ वातावरणमा राख्ने गरिएको थियो, जहाँ एउटै कोठामा १५ जनासम्म बस्ने व्यवस्था मिलाइएको थियो । ७ दिनको प्रशिक्षणपछि उनीहरूलाई साना समूहमा विभाजन गरी प्रत्येक सदस्यले नयाँ सदस्य भित्र्याउनुपर्ने दबाब दिइन्थ्यो । नयाँ सदस्य भित्र्याउन नसक्ने वा घरबाट रकम संकलन गर्न नसक्नेहरूलाई मानसिक यातना दिइने, दबाब दिइने तथा परिवारमार्फत रकम माग्न बाध्य पारिने गरिएको खुलेको छ ।

उद्धार गरिएकामध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका कैलाली, बैतडी, कञ्चनपुर लगायत जिल्लाका नागरिक रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, दाङ, रोल्पा तथा कोशी प्रदेशका उदयपुर, धनकुटा, तेह्रथुम र इलामका नागरिक पनि रहेका छन् । प्रारम्भिक तथ्यांकअनुसार करिब ९० प्रतिशतभन्दा बढी व्यक्ति सुनौली नाका हुँदै भारत प्रवेश गरेका थिए ।

बैतडीका १९ वर्षीय रोहित पार्कीले चार महिना अघि साथीको प्रलोभनमा त्यहाँ पुगेको अनुभव सुनाउँदै सुरुमा सदस्यता शुल्क तिरेपछि कपडा बिक्री तथा नेटवर्किङ कार्यमा लगाइएको बताए । त्यसैगरी कपिलवस्तुकी २६ वर्षीया एक महिलाले पनि राम्रो आम्दानीको आशामा ठूलो रकम बुझाए पनि पछि न त आम्दानी भयो न त लगानी फिर्ता, बरु थप रकम माग्दै मानसिक दबाब दिइएको अनुभव सुनाइन् ।

पीडितहरूका अनुसार उनीहरूलाई घरपरिवारमार्फत रकम माग्न बाध्य पारिन्थ्यो र काम राम्रो भएको देखाउन झूटो आश्वासन दिइन्थ्यो । धेरैजसो अवस्थामा व्यक्तिहरूलाई आर्थिक, मानसिक र सामाजिक रूपमा नियन्त्रणमा राखेर ठगी गरिएको खुलेको छ । हाल सबै पीडितहरूको विस्तृत अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय