२० जेठ, काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्न नेपाल बुधबार गोवाको मैदानमा उत्रँदैछ । नेपाली महिला टोलीका लागि यो खेल केवल फाइनल प्रवेशको अवसर मात्र नभई विगतका पीडादायी हारहरूको हिसाब बराबर गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि हेरिएको छ । लगातार दुई संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भएको नेपाल यसपटक जित निकाल्दै उपाधितर्फको यात्रालाई निरन्तरता दिन चाहन्छ ।
समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता बनेको बंगलादेशबीचको पहिलो सेमिफाइनल खेल बुधबार दिउँसो ४:१५ बजे गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुनेछ । प्रतियोगिताको सबैभन्दा चासोको खेलका रूपमा हेरिएको यो भिडन्तले फाइनल पुग्ने पहिलो टोलीको टुंगो लगाउनेछ ।
नेपालले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै भुटानलाई १–० र श्रीलंकालाई २–० ले पराजित गरेको थियो । दुई खेलमा तीन गोल गरेको नेपालले कुनै गोल नखाई क्लिनसिट कायम राख्न सफल भएको थियो । टोलीको रक्षापंक्ति मजबुत देखिएको छ भने मिडफिल्ड र आक्रमण पंक्तिले पनि आवश्यक अवसर सिर्जना गरिरहेको छ ।
उता साविक दुईपटकको च्याम्पियन बंगलादेश भने यस संस्करणमा आफ्नो पुरानो लयमा देखिएको छैन । पहिलो खेलमा माल्दिभ्सलाई ४–२ ले हराए पनि टोलीले दुई गोल बेहोरेको थियो । दोस्रो खेलमा घरेलु टोली भारतसँग ३–० ले पराजित भएपछि बंगलादेश समूह उपविजेताको रूपमा सेमिफाइनल पुग्न बाध्य भयो । यस संस्करणका दुवै खेलमा गोल खाएको बंगलादेशलाई रक्षात्मक कमजोरीले केही दबाबमा राखेको छ ।
अर्को सेमिफाइनलमा आयोजक भारत र भुटान आमनेसामने हुँदैछन् । भारतलाई तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी मिले पनि प्रतियोगिताको सबैभन्दा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल नेपाल र बंगलादेशबीचको भिडन्तलाई मानिएको छ ।
नेपालका मुख्य प्रशिक्षक नविन न्यौपानेले बंगलादेश विगतजस्तो लयमा नदेखिए पनि अझै बलियो टोली रहेको बताएका छन् । उनले टोलीले सेमिफाइनलका लागि विशेष रणनीति तयार पारेको र खेलाडीहरू मानसिक तथा शारीरिक रूपमा तयार रहेको उल्लेख गरे ।

उनले भने, “बंगलादेशविरुद्ध कडा प्रतिस्पर्धा दिन हामी पूर्ण रूपमा तयार छौं । प्रीति राई टोलीमा आएपछि खेलाडीहरूको आत्मविश्वास थप बढेको छ । कम्बोडियामा खेल्दै आएकी भएकाले यहाँको मौसमसँग पनि उनी सहज छिन् । हामीले विशेष योजना बनाएका छौं र त्यही अनुसार मैदानमा प्रस्तुत हुनेछौं ।”
नेपालका लागि मिडफिल्डर प्रीति राईको आगमन सकारात्मक पक्ष मानिएको छ । कम्बोडियाको लिग खेलिरहेकी उनी समूह चरणका दुई खेल गुमाएर केही दिनअघि मात्रै गोवा पुगेकी हुन् । प्रशिक्षक न्यौपानेका अनुसार प्रीतिले मिडफिल्डमा बल वितरण र खेल निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छिन् ।
“प्रीति अत्यन्त क्षमतावान् खेलाडी हुन् । उनले आक्रमण निर्माणका लागि आवश्यक बल सप्लाइ गर्न सक्छिन् । हामीले अवसर सिर्जना गरेर त्यसको सही उपयोग गर्नुपर्छ । व्यवस्थित रक्षापंक्तिबाट आक्रमणमा जाँदा प्राप्त अवसरलाई गोलमा परिणत गर्न सके जित सम्भव छ,” न्यौपानेले बताए ।
नेपालको महिला फुटबल इतिहासमा साफ च्याम्पियनसिप एउटा अधुरो सपना जस्तै बनेको छ । हालसम्म भएका सात संस्करणमध्ये नेपाल ६ पटक फाइनल पुगेको छ । तर प्रत्येक पटक उपाधि जित्ने अन्तिम लक्ष्यमा पुग्न असफल रहँदै उपविजेतामै सीमित भएको छ । यस कारण नेपाली महिला टोलीमाथि ‘सधैं उपविजेता’ को ट्याग लाग्ने गरेको छ ।
बंगलादेशको यात्रा भने फरक ढंगले अघि बढ्यो । प्रारम्भिक पाँच संस्करणमा एकपटक मात्र फाइनल पुगेको टोलीले पछिल्ला दुई संस्करणमा लगातार उपाधि जित्यो । अझ दुवैपटक उसले नेपाललाई नै फाइनलमा हराएको थियो । सन् २०२२ मा नेपाललाई ३–१ ले पराजित गर्दै पहिलो उपाधि जितेको बंगलादेशले २०२४ मा काठमाडौंमै नेपाललाई २–१ ले हराएर उपाधि रक्षा गरेको थियो ।
त्यसैले यसपटकको सेमिफाइनल नेपालका लागि साधारण खेल होइन । यो विगतका हारहरूको बदला लिने, आत्मविश्वास पुनःस्थापित गर्ने र पहिलो साफ उपाधितर्फ अघि बढ्ने अवसर हो ।
यद्यपि नेपालका लागि चुनौती पनि कम छैन । नियमित कप्तान तथा स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र अनुभवी खेलाडी सविता राना मगर बिना टोली मैदानमा उत्रँदैछ । यी दुवै खेलाडीको अनुपस्थिति नेपालको आक्रमण शक्तिमा असर पार्न सक्ने अनुमान गरिएको छ । त्यसैले टोलीका अन्य खेलाडीहरूले जिम्मेवारी बढाएर खेल्नुपर्नेछ ।
समूह चरणमा सहज रूपमा सेमिफाइनल पुगेको नेपाल अब वास्तविक परीक्षाको सामना गर्दैछ । उपाधि होड कायम राख्न र पहिलो साफ च्याम्पियन बन्ने सपना जीवित राख्न बंगलादेशविरुद्धको चुनौती पार गर्नु अनिवार्य छ ।
नेपाल–बंगलादेश हेड टु हेड

नेपाल र बंगलादेशबीच हालसम्म १३ अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले ६ खेल जितेको छ भने ५ खेल बराबरीमा समाप्त भएका छन् । बंगलादेशले केवल २ खेल जितेको छ । तर ती दुवै जित नेपालका लागि सबैभन्दा पीडादायी सावित भएका छन्, किनकि ती दुवै साफ महिला च्याम्पियनसिपका फाइनल थिए ।
नेपालले सन् २०२१ सेप्टेम्बरमा दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । त्यसयता भने नेपालले नियमित समयमा बंगलादेशलाई हराउन सकेको छैन । अर्को मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सन् २०२२ को साफ महिला च्याम्पियनसिप फाइनलमा नेपाल ३–१ ले पराजित भयो । त्यसपछि २०२३ जुलाईमा ढाकामा भएका दुई मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएका थिए । दोस्रो खेलपछि विजेता तय गर्न गरिएको पेनाल्टी सुटआउटमा भने नेपाल सफल भएको थियो ।
त्यसै वर्ष चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका थिए । तर २०२४ को साफ महिला च्याम्पियनसिप फाइनलमा फेरि बंगलादेशले नेपाललाई २–१ ले हराउँदै उपाधि जित्यो ।
इतिहास हेर्दा नेपालसँग समग्र नतिजामा अग्रता भए पनि पछिल्ला महत्वपूर्ण खेलहरूमा बंगलादेश सफल रहँदै आएको छ । त्यसैले बुधबारको सेमिफाइनल केवल अर्को खेल नभई दुई प्रतिस्पर्धी राष्ट्रबीचको नयाँ अध्याय हुनेछ । नेपालका लागि यो खेल विगतको निराशा मेटाउने र नयाँ इतिहास लेख्ने अवसर हो भने बंगलादेशका लागि आफ्नो प्रभुत्व कायम राख्ने चुनौती हुनेछ ।

