काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेतले पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित फिल्म तथा संगीत निर्माणप्रति विशेष रुचि देखाइरहेका छन् । उनका हालैका सामाजिक सञ्जाल गतिविधिहरूले पनि उनी एआई प्रयोग गरेर सिर्जनात्मक कामतर्फ सक्रिय रूपमा अघि बढिरहेको संकेत गर्छन् ।
केही साताअघि उनले एआई प्रविधिको प्रयोग गरेर तयार पारेको छोटो फिल्म ‘जम्पर’ सार्वजनिक गरेका थिए । करिब पाँच घण्टाको समय लगाएर निर्माण गरिएको उक्त साइन्स फिक्सन छोटो फिल्म उनले आफ्नै कम्पनी ब्ल्याकहर्स पिक्चर्सको युट्युब च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरेका थिए । कम समयमा एआई प्रयोग गरी तयार पारिएको यो फिल्मले दर्शक तथा फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।
फिल्म सार्वजनिक भएपछि निर्देशक बस्नेतले एआई प्रविधिप्रतिको आफ्नो दृष्टिकोण पनि सामाजिक सञ्जालमार्फत व्यक्त गरेका थिए । उनले लेखेका थिए, “यो एआई भन्ने जिनिस चलाउन सिक्दै गर्दा थाहा भो, हामीले टेक्नोलोजीको सदुपयोग गर्न जानेनौँ भने हामी धेरै पछाडि पर्ने रहेछौँ । संसार कुदिराछ, हामी चाहिँ कुदेको देखेर मात्र दंग परिराछौँ ।” उनका अनुसार प्रविधिसँग समयमै अनुकूल हुन नसके सिर्जनात्मक क्षेत्रमा पछि पर्न सकिने अवस्था आउन सक्छ ।
यसैबीच, निर्देशक बस्नेतले एआई प्रविधिकै प्रयोगमार्फत नयाँ संगीत भिडियो पनि सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । गायक तथा संगीतकार जयन वाइबाको शब्द, संगीत र स्वर रहेको ‘उडुँ म कतै’ बोलको गीतको भिडियो उनले निर्देशन गरेका हुन् । उक्त परियोजना एआई प्रविधिको प्रयोग गरेर बनाइएको दाबी गरिएको छ ।
हाल सार्वजनिक भएका केही तस्वीरहरू हेर्दा म्युजिक भिडियो डिस्टोपियन शैलीमा तयार गरिएको देखिन्छ । भिडियोमा तीन जना अन्तरीक्षयात्री ध्वस्त भइसकेको जस्तो देखिने ग्रहमा बन्दुकसहित देखिन्छन् भने निश्चल बस्नेत स्वयं पनि एक पात्रका रूपमा प्रस्तुत छन् ।
यस विषयमा निर्देशक बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, “जमाना एआई युगमा पुगिसकेको हुनाले हामीले पनि एआईबाट एउटा म्युजिक भिडियो बनाउने प्रयास गरेका छौँ । जयन जे वाइबाको स्वर, शब्द र संगीत रहेको उक्त गीतमा भिडियोमार्फत केही नयाँपन दिने कोसिस गरेका छौँ । केही दिनमै सार्वजनिक हुनेछ ।”
उनको यो प्रयासलाई नेपाली चलचित्र र संगीत क्षेत्रमा एआई प्रविधिको प्रयोग विस्तार हुँदै गएको संकेतका रूपमा पनि हेरिएको छ । आगामी दिनमा एआई आधारित सिर्जनात्मक परियोजनाहरू अझ बढ्ने अपेक्षा गरिएको छ ।

