मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र–१ मा रहेको हिन्दू तथा बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी–मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तरोन्नति कार्य सुरु भएको छ।

हिमपात र वर्षाका कारण हरेक वर्ष दर्जनौँ स्थानमा सडक भाँसिने, भत्किने र क्षतिग्रस्त हुने समस्यापछि उक्त सडक सुधार कार्य अघि बढाइएको हो।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले १२ किलोमिटर लामो कागबेनी–मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो। यसका लागि धोर्जे फूर्वा निर्माण सेवा र पूर्वाधार विकास कार्यालयबीच सालबसाली ठेक्का सम्झौता भएको छ।

हाल खिङ्गादेखि झारकोटसम्मको अप्ठ्यारो खण्डमा मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ। कागबेनीबाट माथि मुक्तिनाथतर्फ जाने उकालो घुम्ती क्षेत्रमा सडक सम्याउने तथा चौडा बनाउने काम भइरहेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनीयर जगदीश जोशीले जानकारी दिए।

त्यस्तै, झारकोट गाउँको ओरालो नजिक सडक जीर्ण बनेको स्थानमा दुईतर्फी सवारी आवागमन सहज हुने गरी पर्खाल निर्माणको काम पनि भइरहेको छ। उक्त सडक चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ।

सडक मर्मतसँगै किनारामा थुप्रिएको माटो हटाउने काम पनि भइरहेको छ। वडाध्यक्ष प्रवेश गुरुङका अनुसार दैनिक सयौँ सवारीसाधन चल्ने उक्त सडक केही स्थानमा बिग्रिँदा आवागमनमा समस्या भइरहेको थियो।

उनका अनुसार हिमपात र वर्षाका कारण वर्षेनी सडक भासिने, पुरिने र हिलाम्मे हुने समस्या दोहोरिँदै आएको छ, जसले वर्षमा ५–६ पटकसम्म यातायात अवरुद्ध हुने गरेको छ। “समस्या समाधानका लागि मर्मत तथा स्तरोन्नतिको काम अघि बढाइएको हो,” उनले भने।

सडक साँघुरा घुम्तीका कारण ठूला सवारीसाधनलाई मोड्न कठिन हुने र दुर्घटनाको जोखिम समेत बढ्ने गरेको थियो। मर्मतपछि मुक्तिनाथ जाने सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ।

यसअघि वि.सं. २०७४ मा कागबेनी–मुक्तिनाथ १२ किलोमिटर सडक खण्ड साविक जिल्ला विकास समितिमार्फत डोलिडारको सहयोगमा कालोपत्र गरिएको थियो। तर करिब आठ वर्षमै खिङ्गादेखि झारकोटसम्मको भागमा कालोपत्र उप्किने, सडक बिग्रिने र संरचनामा क्षति पुग्ने समस्या देखिएको हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय