ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले सन् २०२६ मा हुने फिफा विश्वकप आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम प्रतियोगिता हुन सक्ने संकेत गरेका छन्। उनले सामाजिक सञ्जालमा “द लास्ट डान्स” भन्दै प्रतिक्रिया जनाएपछि उनका समर्थकहरूबीच यो विषयले व्यापक चर्चा पाएको छ।
फिफाको आधिकारिक सामाजिक सञ्जालमा ब्राजिल राष्ट्रिय टोलीसँग सम्बन्धित तस्बिरहरू सार्वजनिक गरिएको थियो। “हामीले उनलाई हुर्कँदै गरेको देख्यौं” भन्ने क्याप्सनसहितको उक्त पोस्टमा नेयमारले कमेन्ट गर्दै “द लास्ट डान्स” लेखेका थिए, जसलाई उनले आफ्नो अन्तिम विश्वकप यात्राको संकेतका रूपमा बुझिएको छ।
यसअघि पनि विभिन्न अन्तर्वार्ताहरूमा नेयमारले सन् २०२६ को विश्वकप आफ्नो अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्ने बताउँदै आएका थिए। उनले आफ्नो करियर सन् २०२६ को डिसेम्बरसम्म टुंगिन सक्ने सम्भावनासमेत व्यक्त गरेका छन्।
सन् २०२६ को फिफा विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। ब्राजिल भने यस प्रतियोगितामा लगातार २३ औँ पटक सहभागी हुँदैछ र विश्वकपका सबै संस्करणमा छनोट हुने एक मात्र देश हो।
हाल ३४ वर्षका नेयमार लामो समयदेखि चोटका कारण मैदान बाहिर छन्। सन् २०२३ अक्टोबरमा उरुग्वेविरुद्धको विश्वकप छनोट खेलमा एसीएल (घुँडाको गम्भीर चोट) लागेपछि उनी ब्राजिलका लागि नियमित रूपमा खेल्न सकेका छैनन्। त्यसयता उनको पुनरागमन प्रयासहरू पनि बारम्बार चोटका कारण रोकिँदै आएका छन्।
क्लब स्तरमा उनी हाल साउदी अरेबियाको अल-हिलालसँग आबद्ध छन्, तर त्यहाँ पनि चोटकै कारण उनले निरन्तर खेल्न सकेका छैनन्। यही अवस्थाले उनको २०२६ विश्वकप सहभागितामाथि समेत प्रश्न उठाएको छ।
नेयमारको अन्तर्राष्ट्रिय करियर सन् २०१० मा सुरु भएको थियो, जहाँ उनले अमेरिकाविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। सन् २०१४ को ब्राजिल विश्वकपमा उनी घरेलु मैदानमै ब्राजिलको मुख्य आशा बनेका थिए, तर कोलम्बियाविरुद्धको क्वार्टरफाइनलमा लागेको चोटले उनको यात्रा त्यहीँ रोकिएको थियो।
२०१६ मा उनले रियो ओलम्पिकमा ब्राजिललाई स्वर्ण पदक जिताउँदै करियरको ठूलो उपलब्धि हासिल गरे। २०१८ विश्वकपमा पनि उनी चोटपछि फर्किएर खेलेका थिए, तर ब्राजिल सेमिफाइनलमा पुग्न सकेन।
अब २०२६ को विश्वकप उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम अध्याय बन्न सक्ने सम्भावनासँगै, फुटबल करियरको एक युग अन्त्यतर्फ उन्मुख देखिएको छ।

