काठमाडौं — कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ संयुक्त राज्य अमेरिका (USA) बाट नेपाल फर्किएका छन्। आइतबार बिहान उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै न्याय पाउने आशासहित आफू मातृभूमि फर्किएको बताएका छन्।
उनले लेखेका छन्, “न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु। आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख–दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।”
धुर्मुसले यसअघि ग्रीन कार्ड प्राप्त गरिसकेका थिए। गत मंसिर २६ गते उनले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै छोरीको स्वास्थ्य उपचारका लागि अमेरिका गएको बताएका थिए। उनकी पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ र छोरी भने हाल पनि अमेरिकामै रहेका छन्।
त्यो पोस्टमा उनले आफू “अमेरिका भागेर गएको” भन्ने आरोपको खण्डन गर्दै निरन्तर सरकारी झमेलाहरू र करिब १८ करोड रुपैयाँभन्दा बढी आर्थिक दायित्वका कारण देश बाहिर जान बाध्य भएको दाबी गरेका थिए।
धुर्मुसको समस्या विशेषगरी चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनासँग जोडिएको छ, जुन आर्थिक र प्रशासनिक विवादमा अल्झिँदै आएको छ। कलाकारितातर्फ उनी फिल्म ‘लाज शरणम्’ मा देखिएका थिए, जुन गत वर्ष प्रदर्शनमा आएको थियो।

