नेपालतिर फर्केर हेर्दा टाढाटाढासम्म फैलिएको पहाडी भू–भाग स्पष्ट देखिन्थ्यो। अर्कोतर्फ तिब्बत र चीनतर्फका विशाल भू–भागहरू पनि त्यत्तिकै सफा र सुन्दर रूपमा खुलिरहेका थिए। त्यो क्षण वास्तवमै संसारको कुनै सीमामा होइन, एक खुला आकाशमुनिको फरक संसारमा उभिएको जस्तो लाग्थ्यो।
हिमालसँग मेरो नयाँ परिचय थिएन। यसअघि नै ६ हजारदेखि ७ हजार मिटरसम्मका आठवटा हिमाल चढिसकेको अनुभव थियो। तर संसारकै सर्वोच्च शिखर सगरमाथातर्फ पाइला बढाउने क्षण भने फरक थियो—उत्साहले भरिएको तर डरले पनि समान रूपमा घेरिएको।
जेठ १० गते राति करिब १० बजे हामी क्याम्प ४ बाट शिखरतर्फको अन्तिम यात्रा सुरु गर्यौँ। हाम्रो वरिपरि पनि सगरमाथाको चुचुरो लक्ष्य बनाएका धेरै आरोहीहरू अघि–पछि हिँडिरहेका थिए। अँध्यारो रात, टर्चको मधुरो उज्यालो र हिमालको कठोर चिसोबीच त्यो यात्रा कुनै सपना जस्तै तर अत्यन्तै कठोर यथार्थ थियो।
त्यो दिन हावाको वेग असामान्य रूपमा बढी थियो। चिसो हावा अनुहारमा ठोक्किँदा छाला चिरिएझैँ लाग्थ्यो, श्वास फेर्न कठिन हुँदै गइरहेको थियो। शरीर थाकिसकेको भए पनि लक्ष्य नजिकिएको अनुभूतिले अघि बढाइरहेको थियो। तर मनको एउटा कुनामा भने “अब के हुन्छ?” भन्ने डर लगातार चलिरहेको थियो।

मेरो जिम्मेवारी केवल शिखर पुग्नु मात्र थिएन। मसँगै आएका ३६ वर्षीय अमेरिकी पर्यटक ज्याण्डरलाई पनि सुरक्षित रूपमा माथि पुर्याउनु थियो। उनी चर्चित भ्लगर थिए र सगरमाथा चढ्ने सपना लिएर नेपाल आएका थिए। उनी साहसी थिए तर थकान र कठिनाइले उनी पनि बेला–बेला शिथिल देखिन्थे।
हामीले झन्डै दुई महिनादेखि बेस क्याम्पमा तयारी गरेका थियौँ। तर सगरमाथा कुनै तयारीले मात्र जितिने पर्वत होइन भन्ने कुरा प्रत्येक पाइला–पाइला अनुभव हुँदै थियो।
उकालो चढ्दै गर्दा कतिपय आरोहीहरू थकानले बसिरहेको देखिन्थे, केहीले बीचमै फर्कने निर्णय गरिरहेका थिए। केही स्थानमा अक्सिजनको कमीले मानिसहरू गम्भीर अवस्थामा पुगेका दृश्यहरू पनि देखिन्थे। क्याम्प २ बाट क्याम्प ३ जाने क्रममा एक जना शेर्पा गाइडको मृत्यु भएको घटना अझै मनमा ताजा थियो। त्यो क्षणले सगरमाथा केवल सौन्दर्य होइन, अत्यन्त जोखिमपूर्ण यथार्थ पनि हो भन्ने स्पष्ट गरिदिएको थियो।
त्यही डर र चेतावनीका बीच हामी निरन्तर अगाडि बढिरह्यौँ। श्वास फेर्न गाह्रो हुँदै गयो, हावाको चिसोले शरीर झनै कठोर बनाउँदै लग्यो। तर लक्ष्य नजिकिएको संकेतहरू लगातार आइरहेका थिए।
हिलारी स्टेपभन्दा केही तल पुगेपछि ज्याण्डरले केही समय हरेस खाए। “अब फर्किनुपर्छ कि?” भन्ने उनको आवाजमा थकान र अनिश्चितता मिसिएको थियो। तर मैले उनलाई सम्झाएँ—अब लक्ष्य धेरै टाढा छैन, केही घण्टामै हामी शिखरमा पुग्न सक्छौँ।
मैले उनको अक्सिजनको स्तर मिलाएँ, चकलेट खान दिएँ र उनलाई यहाँसम्म आइपुग्न गरेको संघर्ष सम्झाएँ। “तिमी यहाँसम्म आइपुग्यौ, अब थोरै मात्र बाँकी छ,” भन्ने शब्दहरूले उनलाई फेरि उर्जा दियो।
बिस्तारै उज्यालो हुन थाल्यो। आकाश हल्का सुनौलो हुँदै गयो र हामी निरन्तर अघि बढिरह्यौँ।

अन्ततः बिहान ठीक ६ बजे हामी सगरमाथाको चुचुरोमा पुग्यौँ। त्यो क्षण शब्दमा वर्णन गर्न कठिन थियो। हामी संसारकै सबैभन्दा अग्लो बिन्दुमा उभिएका थियौँ। चारैतिर फैलिएको विशाल हिमशृंखला, उज्यालोमा चम्किएको हिउँ र अनन्त आकाश—सबै दृश्य अविश्वसनीय लाग्थे।
हामीले एक–अर्कालाई अंगालो हाल्यौँ, आँखा रसाए। थकान, पीडा र जोखिम सबै त्यही क्षणमा अर्थहीन जस्तो भयो।

चुचुरोमा अन्य आरोहीहरू पनि थिए। कोही फोटो खिचिरहेका, कोही भावुक भएर चुपचाप हेरिरहेका। तर सबैको अनुहारमा एउटै भावना थियो—“हामी यहाँसम्म आइपुग्यौँ।”
नेपालतिर हेर्दा टाढाटाढासम्म देखिन्थ्यो, तिब्बततर्फका भू–भागहरू पनि त्यत्तिकै भव्य देखिन्थे। त्यो दृश्यले लाग्थ्यो—मानौँ संसारको कुनै स्वर्गीय स्थानमा उभिएको अनुभव।
मैले त्यही क्षण सोचें—सायद संसारको सबैभन्दा ठूलो शान्ति यही हो।
करिब २० मिनेट जति त्यहाँ बिताएपछि हामी फर्कन सुरु गर्यौँ। अचम्मको कुरा, लक्ष्य प्राप्त भएपछि थकान आफैं हराएझैँ लाग्यो। अब तल पुगेर आराम गर्ने सोचले यात्रा झनै सहज बनायो।
करिब ४ घण्टाको अवतरणपछि हामी सुरक्षित रूपमा क्याम्प ४ आइपुग्यौँ।

