एसिया कपको सपना फेरि अधुरै, थाइल्यान्डसँग हार्दै नेपाल बाहिर
२७ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको एसिया कप खेल्ने सपना फेरि अधुरै बनेको छ। केही दिनअघि एसियन गेम्स छनोट गुमाएको नेपालले एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै एसिया कपको यात्रा पनि टुंग्याएको हो।
मलेसियामा बुधबार बिहान भएको क्वाटरफाइनलमा थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनमा सीमित रह्यो। परिणामस्वरूप नेपाल ५६ रनको फराकिलो अन्तरले पराजित भयो।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक अविजित २० रन बनाइन्। सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन जोडे पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। थाइल्यान्डको बलिङ आक्रमणसामु नेपाली ब्याटिङ लाइनअप लगातार दबाबमा देखियो।
थाइल्यान्डका लागि थिपात्चा पुथावङले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिइन्। सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले समान २–२ विकेट हात पार्दा फनिता मायाले १ विकेट थपिन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो। टोलीको जितमा नानापत कोन्चारोन्काइ नायिका बनिन्। उनले ५१ बलमा अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन्। फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रनको योगदान दिए।
नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान १–१ विकेट लिए पनि थाइल्यान्डलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन्।
यो हारसँगै नेपाल लगातार दोस्रो ठूलो प्रतियोगिताको छनोटमा असफल भएको छ। गत साता एसियन गेम्स छनोटको निर्णायक खेलमा चीनसँग पराजित भएको नेपालले अब महिला क्रिकेटको प्रदर्शन र रणनीतिमाथि गम्भीर समीक्षा गर्नुपर्ने अवस्था देखिएको छ। लगातार महत्वपूर्ण अवसर गुम्दा नेपाली महिला क्रिकेटमाथि दबाब बढेको छ भने समर्थकहरू पनि निराश बनेका छन्।

