काठमाडौं । नबिल बैंकले नेपाल–भारत–नेपालबीच क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु गरेको छ, जसले दुवै देशका प्रयोगकर्तालाई डिजिटल माध्यमबाट तत्काल रकम पठाउन र प्राप्त गर्न सक्ने सुविधा प्रदान गर्नेछ।

बैंकका अनुसार यस सेवामार्फत नेपाल र भारतबीच सीमापार भुक्तानी अझ सरल, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। सेवा विशेषगरी मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको हो।

यस प्रणालीअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत भारतमै रहेका आफ्ना परिवार वा साथीहरूलाई तत्काल पैसा पठाउन सक्नेछन्। त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्ताहरूलाई सजिलै रकम पठाउन सक्ने व्यवस्था गरिएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार यो सेवा सीमापार डिजिटल भुक्तानीलाई सहज बनाउने महत्वपूर्ण कदम हो। उनले यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ विस्तार र ग्राहक सुविधामा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।

सेवामा नियामकीय व्यवस्थाअनुसार सीमासमेत तोकिएको छ। नेपालबाट भारततर्फ दैनिक अधिकतम भारतीय रुपैयाँ १५ हजार र मासिक अधिकतम १ लाख रुपैयाँ पठाउन सकिनेछ। भारतबाट नेपालतर्फ दैनिक अधिकतम २ लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ, जसमा मासिक सीमा लागू गरिएको छैन।

यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) सँगको सहकार्यमा सञ्चालन गरिएको हो।

नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटिएममार्फत सेवा दिइरहेको छ। करिब २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै एनबैंक एपमार्फत सेवा विस्तार गरिरहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय