काठमाडौँ । भारतले नेपाली चियाको आयातमा नयाँ प्राविधिक मापदण्ड लागू गरेपछि नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाम गम्भीर संकटमा परेको छ। विशेषगरी सूर्योदय नगरपालिकाका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्, जसले हजारौँ किसान, मजदुर र निर्यात व्यवसायीको भविष्य अन्योलमा परेको छ।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि आफ्ना सदस्य उद्योगहरू बन्द गर्ने घोषणा गरेको छ। एसोसिएसनमा आबद्ध ५३ उद्योगले उत्पादन गरेका लाखौँ किलो तयारी चिया भारतीय बजारमा बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बनेको जनाएको छ।

एसोसिएसनका अनुसार हाल भारतका विभिन्न नाकामा तीन लाख किलोभन्दा बढी नेपाली तयारी चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ भने उद्योग परिसरमै थप सात लाख किलोभन्दा बढी चिया थन्किएको छ। भण्डारण क्षमता पूर्ण रूपमा भरिएपछि नयाँ उत्पादन राख्ने ठाउँसमेत नभएको उद्योगीहरू बताउँछन्।

एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार उद्योगहरूले किसानबाट हरियोपत्ती खरिद गरिसकेका छन्। त्यसलाई प्रशोधन गरेर तयारी चिया उत्पादन गरिएको भए पनि बजारमा बिक्री हुन नसक्दा नगद प्रवाह पूर्ण रूपमा प्रभावित भएको छ।

“हामीले किसानलाई भुक्तानी दिनैपर्छ। तर उत्पादन बिक्री नहुँदा उद्योग चलाउन सम्भव छैन। यही अवस्था रहे उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प देखिँदैन,” उनले भने।

भारतको नयाँ नियमले बढायो समस्या

भारत सरकारले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। यस व्यवस्थाअनुसार नेपालबाट जाने प्रत्येक ट्रक वा कन्साइनमेन्टको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ। नमुना संकलनदेखि प्रयोगशाला प्रतिवेदन आउन २० दिनभन्दा बढी समय लाग्ने गरेको व्यवसायीहरूको गुनासो छ।

यस अवधिभर चिया बिक्री गर्न पाइँदैन। परीक्षणमा असफल भए सम्पूर्ण चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने व्यवस्था छ। उद्योगीहरूका अनुसार यस्तो प्रक्रिया अन्तर्राष्ट्रिय व्यापारको सामान्य अभ्यासभन्दा निकै झन्झटिलो र खर्चिलो छ।

उद्योगी गोपाल कट्टेलका अनुसार भारतले प्राविधिक मापदण्डको नाममा गैर-भन्सार अवरोध सिर्जना गरेको छ।

“चिया उत्पादन गरेर बजारमा पठाउने बाटो नै बन्दजस्तै भएको छ। नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने उद्देश्यले यस्ता अवरोध सिर्जना गरिएको अनुभूति भएको छ,” उनले बताए।

हजारौँ किसानको जीविकोपार्जन संकटमा

उद्योग बन्द भए यसको प्रत्यक्ष असर किसानहरूमा पर्नेछ। सूर्योदय नगरपालिकामा मात्रै करिब २ हजार ९९५ किसान व्यावसायिक चिया खेतीमा संलग्न छन्। ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट वार्षिक दुई करोड किलोभन्दा बढी हरियोपत्ती उत्पादन हुँदै आएको छ।

उद्योग सञ्चालन बन्द भए किसानको हरियोपत्ती खरिद रोकिने सम्भावना छ। यसले उनीहरूको मुख्य आम्दानी स्रोत नै समाप्त हुने खतरा बढाएको छ।

स्थानीय किसान राजन भट्टराई भन्छन्, “हामीले वर्षभरि गरेको मेहनतको आम्दानी यही चियामा निर्भर छ। उद्योग बन्द भए हरियोपत्ती कसले किन्छ? परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको छ।”

स्थानीय सरकारको चिन्ता

सूर्योदय नगरपालिकाले यो विषयलाई राष्ट्रिय आर्थिक संकटको रूपमा लिन आग्रह गरेको छ। नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालका अनुसार भारतीय चिया बोर्डले कोलकातास्थित गोदाममै पुगेर नेपाली चियाको नमुना संकलन गरिरहेको छ।

तर नमुना परीक्षणको प्रतिवेदन समयमै उपलब्ध नहुँदा नेपाली चिया गोदाममै थन्किएको छ। लामो समय भण्डारण हुँदा गुणस्तरमा असर पर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको प्रतिष्ठामा समेत नकारात्मक प्रभाव पर्न सक्ने जोखिम रहेको उनको भनाइ छ।

“नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल नगरे नेपाली चिया उद्योगले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ,” उनले बताए।

अर्बौँ रुपैयाँको निर्यात जोखिममा

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट प्रत्येक वर्ष ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ। यसमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा निर्भर छ।

नेपालले वार्षिक करिब ४ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यको अर्थोडक्स चिया निर्यात गर्दै आएको छ। इलाम, पाँचथर र धनकुटा नेपाली अर्थोडक्स चियाका प्रमुख उत्पादन क्षेत्र हुन्।

यदि भारतसँगको व्यापारिक अवरोध लामो समयसम्म कायम रह्यो भने नेपालले वर्षौँ लगाएर निर्माण गरेको अन्तर्राष्ट्रिय बजार गुमाउन सक्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार तत्काल कूटनीतिक पहल, वैकल्पिक निर्यात बजारको खोजी र अन्तर्राष्ट्रिय व्यापार संयन्त्रमार्फत समस्या समाधानको प्रयास आवश्यक देखिन्छ।

चिया उद्योग नेपालको कृषि निर्यातको महत्वपूर्ण आधारमध्ये एक भएकाले यो संकट केवल उद्योगी वा किसानको मात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषय बनेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय