काठमाडौं : मेटा कम्पनीले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ मा नयाँ फिचरहरू थप्दै यसलाई अझ प्रभावकारी र सिर्जनात्मक बनाएको छ। पछिल्लो अपडेटमार्फत एपमा एआई प्रविधिमा आधारित अटोमेटेड बाइलिङ्गुअल क्याप्सन, सुधारिएको क्रिएटिभ टेम्पलेट तथा नयाँ सिजनल साउन्ड इफेक्टहरू समावेश गरिएको छ।
यस अपडेटको सबैभन्दा महत्वपूर्ण विशेषता एआईद्वारा स्वचालित रूपमा तयार हुने ‘अटो–जेनेरेटेड बाइलिङ्गुअल क्याप्सन’ रहेको छ। यो सुविधाले सामग्री निर्माता (क्रिएटर) हरूलाई आफ्नो भिडियो विभिन्न देशका दर्शकसम्म पुर्याउन सहज बनाउने अपेक्षा गरिएको छ।
नयाँ क्याप्सन फिचरले अंग्रेजी, हिन्दी, स्पेनी, फ्रान्सेली, बङ्गालीलगायत १५ वटा भाषामा भिडियोको टेक्स्ट तयार गर्न सक्नेछ। यसले भाषाको सीमालाई कम गर्दै क्रिएटरहरूलाई अन्तर्राष्ट्रिय दर्शकसँग जोडिन सहयोग पुर्याउनेछ।
एडिट्स एपसँग प्रत्यक्ष रूपमा जोडिएको इन्स्टाग्रामले पनि विदेशी क्रिएटरका सामग्रीलाई बढी पहुँच दिलाउन एक्सप्लोर फिडमा अनुवाद गरिएका पोस्टहरूको प्रदर्शन बढाउँदै आएको छ। मेटाको पछिल्लो अपडेटलाई यही रणनीतिको निरन्तरताका रूपमा हेरिएको छ।
यससँगै मेटाले एडिट्स एपमा नयाँ ‘सिजनल साउन्ड इफेक्ट्स’ पनि थपेको छ। कम्पनीका अनुसार यी नयाँ ध्वनि प्रभावहरूले प्रयोगकर्तालाई आफ्ना भिडियोमा नयाँपन र आकर्षक प्रस्तुति थप्न सहयोग गर्नेछन्, विशेषगरी मौसमी तथा ट्रेन्डिङ सामग्री तयार गर्दा यो उपयोगी हुनेछ।
मेटाले टेम्पलेट निर्माण प्रक्रियालाई थप सहज र रचनात्मक बनाउन नयाँ उपकरणहरू पनि सार्वजनिक गरेको छ। जसअन्तर्गत ओभरलेको विस्तारित सपोर्ट र ‘क्लिप लक’ फिचर समावेश छन्।
कम्पनीका अनुसार प्रयोगकर्ताले कुनै क्लिपलाई लक गरेपछि त्यो निश्चित स्थानमा स्थिर रहनेछ। पछि अन्य प्रयोगकर्ताले उक्त टेम्पलेट प्रयोग गर्दा पनि सो क्लिप आफ्नो निर्धारित स्थानबाट परिवर्तन हुने छैन। यसले ट्रेन्डिङ भिडियो शैली र नयाँ सिर्जनात्मक ढाँचालाई पछ्याउन अझ सजिलो बनाउनेछ।
मेटाले पछिल्लो समय हरेक दुई हप्तामा एडिट्स एपमा नयाँ सुविधा थप्दै आएको छ, जसका कारण यसको क्षमता र प्रयोग अनुभव निरन्तर सुधार हुँदै गएको छ। विशेषगरी छोटो भिडियो तथा रिल्स् बनाउने क्रिएटरहरूका लागि यी नयाँ प्रविधिहरूले भिडियोको गुणस्तर, पहुँच र प्रस्तुति अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

