काठमाडौं : फिफा विश्वकप २०२६ बाट पोर्चुगल बाहिरिएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले निराशा व्यक्त गर्दै आफूले टोलीका लागि सक्दो योगदान दिएको र सन्तुष्ट मनका साथ विश्वकप यात्राको अन्त्य गरेको बताएका छन्।
स्पेनसँगको हारसँगै पोर्चुगलको विश्वकप यात्रा समाप्त भएपछि प्रतिक्रिया दिँदै रोनाल्डोले प्रतियोगिताबाट बाहिरिनु आफ्ना लागि पीडादायी भएको बताए। उनले टोलीका लागि आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेको उल्लेख गर्दै कुनै पछुतो नरहेको धारणा व्यक्त गरे।
‘यसरी विश्वकपबाट बाहिरिनु दुःखद हो। मैले टोलीका लागि आफ्नो सबैथोक दिएको छु। आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरेँ र अहिले सन्तुष्ट मनका साथ बिदा हुँदैछु,’ रोनाल्डोले भने।
भविष्य र सम्भावित सन्यासबारे उठिरहेका चर्चाका बीच रोनाल्डोले तत्काल कुनै निर्णय नगर्ने स्पष्ट पारे। उनले अहिले परिवारसँग समय बिताएर आगामी योजनाबारे शान्त ढंगले सोच्ने बताउँदै हतारमा कुनै पनि निष्कर्षमा नपुग्ने संकेत दिएका छन्।
‘हो, यो मेरो अन्तिम विश्वकप थियो। अब मसँग सोच्ने र परिवारसँग समय बिताउने अवसर हुनेछ। म हतारमा कुनै पनि निर्णय लिने छैन,’ उनले भने।

