“त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर मात्रै हुँदैनथ्यो । सबैलाई बचाउनुपर्ने जिम्मेवारी थियो । अनि सबैलाई बचाउने क्रममा मैले सबैलाई ठम्याममा एक्सिडेन्ट भयो भनेर जानकारी गराएँ ।”
१९ भदौ, काठमाडौं । सुरुङभित्र शुक्रबार बिहान उद्धार गरिएर बाहिर निकालिएका सञ्जय साहले उद्धारकर्मीहरूसँग सुरुङभित्रको अवस्थाबारे जानकारी दिएका छन् ।
सञ्जयका अनुसार सुरुङ निकै लामो भएकाले त्यस क्षेत्रमा अझै पनि अन्य व्यक्तिहरू फसेको हुन सक्ने सम्भावना छ । उनले बाढी आएपछि आफू कसरी सुरुङभित्र फस्न पुगे भन्ने विषयमा पनि उद्धारकर्मीहरूसँग जानकारी गराएका छन् ।
सुरुङभित्रको कन्ट्रोल रुममा अपरेटरका रूपमा काम गर्ने सञ्जयले आफूले अन्य व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्राथमिकता दिँदा अन्तिम समयमा आफू भने बाहिर निस्कन नसकेको बताएका छन् ।
उनले नेपाली सेनाका अधिकारीहरूसँग गरेको छोटो संवादको अंश यस्तो छ :
भित्र कति जना जति छन् होला ?
भित्र म कन्ट्रोल रुममा अपरेटरको रूपमा काम गर्थें । सामान्य समयमा अरू बेलामा चार–पाँच वा छ जना जति मात्रै हुन्थे । तर अहिले त्यहाँ करिब ४० देखि ४५ जना मानिसहरू नै थिए ।
अनि कन्ट्रोल रुममा म भएकाले मेरो जिम्मेवारी भनेको त्यहाँ रहेका सबैको ज्यान जोगाउनु र सबैलाई सुरक्षित बनाउनु थियो ।
अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर मात्रै भएन । सबैलाई बचाउनु पनि पर्यो । त्यस क्रममा मैले सबैलाई ठम्याममा एक्सिडेन्ट भयो भनेर जानकारी गराएँ ।
त्यसपछि मैले सबैलाई त्यहाँबाट भाग्न र सुरक्षित स्थानतर्फ जान लगाएँ । सबैलाई बाहिर निकाल्ने क्रममा मेरो समय पनि त्यत्तिकै बित्यो । अरू सबैलाई बाहिर पठाउँदा–पठाउँदै अन्तिममा मेरो निस्किने समय नै गयो । त्यसपछि म बाहिर निस्किन सकिनँ र आफैं त्यहीँ फसेँ ।
अब अझै भित्र कति जना जति अड्किएका छन् ?
हाम्रो सम्पर्कमा रहेका साथीहरू भने तीन–चार जना मात्रै थिए । उनीहरू पनि नजिकै छेउछाउको क्षेत्रमा थिए ।
अनि भित्र पावर हाउस थियो । पावर हाउस भित्र पनि मानिसहरू छन् ?
हुन सक्छन् । सबै जना भाग्न नसकेको पनि हुन सक्छ । सुरुङ निकै लामो छ । त्यहाँभित्र पानी पनि पसेको हुन सक्छ ।
धेरै दिनपछि आज बाहिर निस्किनुभयो । यो त तपाईंको दोस्रो जीवन हो, बधाइ छ !
आज कति गते भयो ?
आज १९ गते हो । दोस्रो जीवन नै भयो । धेरै–धेरै बधाइ छ !
म त्यहाँ महामन्त्र जप गर्दै बसेको थिएँ ।

