सीमावर्ती सहर तथा आसपासका गन्तव्यबाट छोटो अवधिका लागि केही पर्यटक आए पनि प्याकेजमा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकको संख्या भने स्वाट्टै घटेको छ।

काठमाडौँ — दुई साताअघि भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रत्यक्ष तथा अप्रत्यक्ष असर मुलुकका प्रमुख पर्यटकीय गन्तव्यहरूमा समेत पर्न थालेको छ । चाडपर्वको समय सुरु भइसकेकाले यस अवधिमा अधिकांश होटलमा पर्यटकका लागि बुकिङ हुनुका साथै विभिन्न कार्यक्रम, जमघट तथा सम्मेलनका तयारीसमेत तय भइसकेका थिए । धेरै होटलहरूले तीजलाई लक्षित गर्दै विशेष अफर तथा प्याकेजसमेत सार्वजनिक गरेका थिए ।

तर भोटेकोशी बाढीपछि नेपाल सुरक्षित नरहेको भन्ने खबर तथा नकारात्मक प्रचार अन्तर्राष्ट्रियस्तरमा फैलिँदा आन्तरिक तथा बाह्य पर्यटकले पोखरा, चितवन र लुम्बिनीका होटलमा गरेका बुकिङ धमाधम रद्द गर्न थालेका छन् । सडक तथा यातायातका मार्ग सहज नरहेको भन्ने धारणा बनेपछि आन्तरिक पर्यटकले समेत घुमफिरका लागि बनाएका योजना स्थगित वा रद्द गरेका छन् ।

यसको प्रत्यक्ष प्रभाव पर्यटकीय सिजनमै होटल व्यवसायमा देखिएको छ । पर्यटकको चहलपहल बढ्नुपर्ने समयमा प्रमुख पर्यटकीय गन्तव्यका होटलहरू सुनसान बन्न थालेका छन् ।

चितवनको सौराहा सामान्यतया यतिबेला पर्यटकले भरिभराउ हुने समय हो । तर यसपटक सौराहामा छिटफुट पर्यटक मात्र देखिन थालेका छन् । क्षेत्रीय होटल संघका अनुसार अहिले सौराहाका होटलमा अकुपेन्सी ५ प्रतिशतभन्दा कममा सीमित भएको छ ।

‘अहिले पर्यटक नै छैनन्,’ क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भने, ‘यहाँका होटलमा ५ प्रतिशतभन्दा कम अकुपेन्सी छ ।’

घिमिरेको जंगल सफारी लजमा ३४ वटा कोठा छन् । तर पर्यटकले गरेका बुकिङ रद्द हुन थालेपछि अहिले अधिकांश कोठा खाली रहेको उनले बताए । उनका अनुसार कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या प्रभावित भएको छ ।

भोटेकोशी बाढीले चितवनमा प्रत्यक्ष रूपमा ठूलो क्षति नगरे पनि विभिन्न ट्राभल एडभाइजरी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालका बारेमा नकारात्मक तथा चिन्ताजनक समाचार फैलिँदा पर्यटन व्यवसाय प्रभावित भएको घिमिरेको भनाइ छ ।

‘पूर्व–पश्चिम राजमार्गमा समस्या छैन,’ उनले भने, ‘नेपालको अवस्था भयावह छ भनेर अन्तर्राष्ट्रियस्तरमा खबर फैलिएकाले पर्यटन क्षेत्र मारमा परेको छ ।’

उनका अनुसार चितवन पुग्नका लागि मुग्लिन–काठमाडौं सडक खण्डबाहेक अन्य वैकल्पिक मार्गसमेत सञ्चालनमा रहेका छन् । मकवानपुरको हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ, त्रिभुवन राजमार्ग तथा हेटौंडा–कुलेखानी सडकबाट समेत पर्यटक चितवन पुग्न सक्ने अवस्था रहेको छ ।

त्यस्तै काठमाडौं–भरतपुर हवाई यात्रा गरेर पनि पर्यटक चितवन आउन सक्ने अवस्था रहेको व्यवसायीहरू बताउँछन् । सडकमार्गमा केही समस्या देखिए पनि हवाई यातायातबाट चितवन पुग्न भने कठिनाइ नरहेको उनीहरूको भनाइ छ ।

केटीएम हस्पिटालिटीअन्तर्गत सञ्चालित रोयल टुलिप चितवन होटलमा ६५ वटा कोठा छन् । तर बाढीपछि पर्यटकको आवागमन घट्दा होटलको बुकिङमा ठूलो असर परेको छ । होटलका अध्यक्ष रामेश्वार साहका अनुसार हालसम्म करिब ८० प्रतिशत बुकिङ रद्द भइसकेका छन् ।

‘बाढीले पर्यटन क्षेत्र गम्भीर मारमा परेको छ,’ साहले भने, ‘मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा बाढीको प्रत्यक्ष प्रभाव नपरे पनि नेपालका बारेमा फैलिएको अफवाहका कारण पर्यटक आइरहेका छैनन् ।’

उनका अनुसार होटलमा गरिएको बुकिङ रद्द गर्नेमा आन्तरिक तथा विदेशी दुवै पर्यटक रहेका छन् । करिब ५० प्रतिशत आन्तरिक पर्यटक र ३० प्रतिशत विदेशी पर्यटकले आफ्ना बुकिङ रद्द गरेको साहले बताए ।

पर्यटकको नियमित आवागमन घट्नुका साथै होटलमा आयोजना हुने कन्फ्रेन्स, सेमिनार तथा विभिन्न संघसंस्थाका बैठकका लागि गरिएको बुकिङसमेत रद्द भएका छन् । यसले होटल व्यवसायलाई दोहोरो असर परेको व्यवसायीहरूको भनाइ छ ।

पर्यटकीय सिजनमै पर्यटकको संख्या घटेपछि होटल व्यवसायीहरूले आगामी दिनमा पर्यटन क्षेत्रलाई थप नकारात्मक प्रभावबाट जोगाउन नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय