१५ असार, काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य मिना सिंह रखालले असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइरहँदा पनि देशका धेरै किसानले समयमै धानको बिउसमेत राख्न नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रखालले सबै नेपालीलाई राष्ट्रिय धान दिवस तथा दही–च्युरा खाने पर्वको शुभकामना व्यक्त गरिन्। साथै उनले धान दिवस केवल औपचारिक कार्यक्रम र शुभकामनामा सीमित नराखी किसानका वास्तविक समस्याको समाधानतर्फ सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइन्।

उनले देशका विभिन्न जिल्लामा फरक–फरक प्रकृतिका समस्या देखिएको उल्लेख गर्दै कतिपय स्थानमा पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँ गर्न नसकेको र अन्य स्थानमा अत्यधिक वर्षाका कारण खेतबारी डुबानमा परेको बताइन्। मौसमको असन्तुलनले यस वर्ष धान खेती प्रभावित भएको भन्दै उनले किसानहरू दोहोरो समस्यामा परेको उल्लेख गरिन्।

सांसद रखालका अनुसार धेरै किसानले अझैसम्म धानको बिउ राख्न नसकेको अवस्था रहेको छ। समयमै रोपाइँ हुन नसक्दा उत्पादनमा प्रत्यक्ष असर पर्ने र त्यसको प्रभाव खाद्य सुरक्षादेखि किसानको आम्दानीसम्म पर्ने उनको भनाइ थियो।

उनले नेपाललाई कृषि प्रधान देश भन्ने नाराले मात्र नपुग्ने भन्दै कृषि क्षेत्रका आधारभूत आवश्यकतामा सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्। विशेषगरी धान रोपाइँको समयमा किसानलाई आवश्यक पर्ने रासायनिक मल, गुणस्तरीय बिउ, सिँचाइ सुविधा तथा कृषि सामग्री सहज रूपमा उपलब्ध गराउनु राज्यको दायित्व भएको उनले उल्लेख गरिन्।

“कृषि प्रधान देश भनेर भाषणमा मात्रै भन्नु पर्याप्त हुँदैन। किसानले आवश्यक परेको समयमा मल, बिउ र सिँचाइको सुविधा पाउनुपर्छ। अन्यथा उत्पादन घट्छ, किसानको आम्दानी घट्छ र अन्ततः देशको खाद्य सुरक्षामै असर पर्छ,” उनले भनिन्।

उनले कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य हासिल गर्न किसानमैत्री नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिन्। प्राकृतिक विपद्, जलवायु परिवर्तन तथा कृषि सामग्रीको अभावका कारण किसानले भोगिरहेका समस्याको तत्काल समाधान खोज्नुपर्ने आवश्यकता पनि उनले औँल्याइन्।

सांसद रखालले असार महिनामा धान रोपाइँको चटारो चलिरहँदा किसानले मल र बिउको अभाव झेल्नुपरेको अवस्था अत्यन्त दुःखद भएको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना लागू गर्न सरकारलाई आग्रह गरिन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय