काठमाडौं : नेपालमा हालसम्म सबैभन्दा धेरै कमाइ गर्ने विदेशी फिल्मको सूचीमा भारतीय चलचित्रहरूको पूर्ण वर्चस्व देखिएको छ। बक्स अफिसको सर्वाधिक कमाइ गर्ने शीर्ष १० विदेशी फिल्मको सूचीमा एउटा पनि हलिउड फिल्म पर्न सकेको छैन।
नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको शीर्ष स्थानमा भारतीय चलचित्र ‘पुष्पा : द रुल–पार्ट २’ रहेको छ। उक्त फिल्मले नेपालमा कुल २६ करोड ४६ लाख २७ हजार ८९७ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्म हेर्ने दर्शक संख्या ८ लाख ५२ हजार ४८६ पुगेको छ।
दोस्रो स्थानमा दक्षिण भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ रहेको छ। यस चलचित्रले १९ करोड ८० लाख १४ हजार ९९ रुपैयाँ ग्रस कमाउँदै ठूलो व्यावसायिक सफलता हासिल गरेको छ। यसलाई नेपालमा ६ लाख ८७ हजार ९९४ दर्शकले हेरेका छन्।
तेस्रो स्थानमा निर्देशक एसएस राजामौलीको चर्चित फिल्म ‘आरआरआर’ रहेको छ। यसले नेपालमा १७ करोड १२ लाख ४२ हजार ६५० रुपैयाँ ग्रस आम्दानी गरेको छ भने ६ लाख १ हजार दर्शकले यो फिल्म हेरेका छन्।
चौथो स्थानमा ‘एनिमल’ रहेको छ। रणबीर कपूर अभिनित उक्त फिल्मले नेपालमा १६ करोड ५६ लाख ३८ हजार ७८३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यसलाई ५ लाख ५६ हजार ८६४ दर्शकले हेरेका छन्।
पाँचौं स्थानमा बलिउड अभिनेता शाहरुख खान अभिनित ‘जवान’ रहेको छ। यस फिल्मले १४ करोड ३५ लाख रुपैयाँ ग्रस कमाएको छ भने ४ लाख ७६ हजार दर्शकले हलमा पुगेर हेरेका छन्।
छैटौं स्थानमा रणवीर सिंह अभिनित ‘धुरन्धर : द रिभेन्ज’ रहेको छ। उक्त फिल्मले १३ करोड ३९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ र यसलाई ३ लाख ९७ हजार दर्शकले हेरेका छन्।
सातौं स्थानमा शाहरुख खानकै अर्को सफल फिल्म ‘पठान’ रहेको छ। यसले नेपालमा १३ करोड ३३ लाख रुपैयाँ ग्रस कमाउँदै ४ लाख ४० हजार दर्शक आकर्षित गरेको छ।
आठौं स्थानमा प्रभास र दीपिका पादुकोण अभिनित साइन्स फिक्सन फिल्म ‘कल्की २८९८ एडी’ रहेको छ। यस चलचित्रले १२ करोड ५८ लाख रुपैयाँ ग्रस आम्दानी गरेको छ भने ३ लाख ६५ हजार दर्शकले हेरेका छन्।
नवौं स्थानमा कन्नड फिल्म ‘कान्तारा : अ लिजेन्ड–च्याप्टर १’ रहेको छ। यसले नेपालमा १२ करोड ३५ लाख रुपैयाँ ग्रस कमाएको छ। फिल्म हेर्ने दर्शक संख्या ३ लाख ८३ हजार रहेको छ।
त्यस्तै, शीर्ष १० को अन्तिम स्थानमा ‘धुरन्धर’ रहेको छ। उक्त फिल्मले १० करोड ५२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने ३ लाख १९ हजार दर्शकले यसलाई हेरेका छन्।
यो बक्स अफिस तथ्यांकले नेपाली चलचित्र बजारमा विदेशी फिल्मतर्फ भारतीय चलचित्रहरूको बलियो प्रभाव र दर्शक आकर्षण अझै कायम रहेको देखाएको छ। विशेषगरी दक्षिण भारतीय र बलिउड फिल्महरूले नेपाली दर्शकमाझ ठूलो व्यापारिक प्रभाव बनाउन सफल भएका छन्।

