झापा, भद्रपुर — ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) विभागीय दुई सशक्त टोलीबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदैछ।
मेची रंगशालामा त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस एफसी आमनेसामने हुनेछन्। बैशाख ५ गतेदेखि जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
आर्मीले उद्घाटन खेलमै आरएस पोखरा एफसीमाथि प्रभावशाली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो। यता, पुलिसले आयोजक चन्द्रगढी युथ क्लबलाई प्रिक्वार्टरफाइनलमा र भारतको रानी लक्ष्मीबाई टोलीलाई क्वार्टरफाइनलमा पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ र ट्रफी पाउनेछन्। आयोजकका अनुसार यो पुरस्कार राशि नेपाली महिला फुटबल इतिहासकै उच्चमध्ये एक हो।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुने तय गरिएको छ।

