काठमाडौं । अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको कथानक चलचित्र ‘आई एम जितबहादुर’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले आधिकारिक पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी असार ५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने जानकारी दिएको हो।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार जितु नेपाल र वर्षा राउतलाई फरक–फरक चरित्रिक भावसहित प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु र पात्रको विविधताको प्रारम्भिक संकेत प्रदान गर्छ।

निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस चलचित्रले गाउँबाट सहर प्रवेश गरी चलचित्र क्षेत्रमा नायक बन्न संघर्षरत एक युवाको कथालाई केन्द्रमा राखेको छ। निर्माण पक्षका अनुसार चलचित्र आंशिक रूपमा अभिनेता जितु नेपालको वास्तविक जीवनबाट प्रेरित छ।

चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाललगायतका कलाकारहरूको समेत अभिनय रहेको छ। कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिम्खडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा आबद्ध छन्।

भारतीय सिनेमाटोग्राफर अरविन्दद्वारा छायांकन गरिएको चलचित्रको सम्पादन कार्य हालै मुम्बईमा सम्पन्न गरिएको छ। निर्देशक घोषकै कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय