काठमाडौं — देशभर प्रिमनसुन प्रणाली सक्रिय भएसँगै आगामी केही दिनसम्म मध्यमदेखि भारी वर्षा हुने प्रबल सम्भावना रहेको भन्दै मौसमविदहरूले बाढी, पहिरो र डुबानको जोखिम उच्च भएको चेतावनी दिएका छन्। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानहरू बढी प्रभावित हुन सक्ने जनाइएको छ।

मौसम पूर्वानुमानअनुसार आज रातिदेखि वर्षाको तीव्रता र विस्तार दुवै बढ्नेछ भने वैशाख १६ गते अझै बढी वर्षा हुने सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रहरूमा पनि बेलुकी र रातिको समयमा भारी वर्षा हुन सक्ने देखिएको छ।

मौसमविदहरूका अनुसार पूर्व र पश्चिमबाट आएका प्रिमनसुन प्रणालीहरू नेपालमा प्रवेश गरी एकआपसमा मिसिँदा स्थानीय स्तरमा थप सक्रिय प्रणाली विकास भएको हो। यसका कारण मेचीदेखि कर्णालीसम्मका केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुने सम्भावना रहेको छ, जसले पानीको निकास कमजोर भएका क्षेत्रहरूमा डुबानको जोखिम समेत बढाएको छ।

वर्षासँगै साना खोला–खोल्सामा आकस्मिक बाढी आउने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो जाने र सडक अवरुद्ध हुने खतरा बढेको छ। यसै सन्दर्भमा मौसमविदहरूले त्रिभुवन, पृथ्वी, सिद्धार्थ, पासाङल्हामु र बीपी राजमार्गलगायत जोखिमयुक्त सडकहरूमा विशेषगरी रातिको समयमा यात्रा नगर्न कडा आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले सम्बन्धित सबै प्रदेशहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै मौसमको अद्यावधिक जानकारी लिएर मात्रै यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। आगामी केही दिन देशभर वर्षा जारी रहने सम्भावना रहेकाले जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय