काठमाडौं, १६ वैशाख
— इन्धनको मूल्यमा निरन्तर वृद्धि भइरहेका बेला सरकारले पुनः सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सवारीसाधनको भाडा समायोजन गर्दै नयाँ दर बुधबारदेखि नै लागू गरेको जनाएको छ।

विभागका अनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी क्षेत्रका मालवाहक तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा समान रूपमा ५–५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको छ। इन्धनको बढ्दो लागतले सञ्चालन खर्चमा दबाब परेको भन्दै भाडा समायोजन गरिएको विभागले स्पष्ट पारेको छ।

यसअघि पनि गत चैत २५ गते भाडा बढाइएको थियो। पछिल्लो वृद्धि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैशाख १२ गतेको स्वीकृतिपछि कार्यान्वयनमा आएको हो। छोटो अवधिमै दोहोरिएको भाडा वृद्धिले सर्वसाधारणको दैनिक खर्चमा थप बोझ पर्ने देखिएको छ।

हाल डिजेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ, जसलाई भाडा समायोजनको प्रमुख आधार बनाइएको विभागको भनाइ छ। तर, विद्युतीय सवारीसाधनलाई भने भाडा बढाउन अनुमति दिइएको छैन। विभागले स्पष्ट चेतावनी दिँदै कुनै पनि विद्युतीय सवारीले मनोमानी रूपमा भाडा वृद्धि गरेमा कानुनी कारबाही गरिने जनाएको छ।

सार्वजनिक यातायातको भाडा पुनः बढेसँगै उपभोक्ता र यात्रुहरू प्रत्यक्ष प्रभावित हुने भएका छन्, भने बजार मूल्यमा समेत यसको असर देखिन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय