के तपाईं जोन चाम्लिङ राई का प्रशंसक हुनुहुन्छ? उनका गीतहरूमा झुमेर संगीतको माहोलमा हराउन चाहनुहुन्छ? यदि हो भने, तपाईंको प्रतीक्षाको क्षण अब धेरै टाढा छैन । भोलि साँझ इलामको जसबीरेमा “जोन एन्ड दि लोकल्स”को साङ्गीतिक प्रस्तुति गुञ्जिने तयारी गरिएको छ ।
उक्त कार्यक्रम जसबीरे खेल मैदान मा साँझ ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा जोन चाम्लिङ राईले आफ्ना चर्चित नयाँ तथा पुराना गीतहरू प्रस्तुत गर्नेछन्, जसमा ‘हावा जस्तै…’, ‘भनन मात्र…’, ‘मुटुदेखि…’, ‘समयले…’ र ‘साधना…’ जस्ता लोकप्रिय गीतहरू समावेश हुनेछन् । उनलाई “जोन एन्ड दि लोकल्स” टिमले प्रत्यक्ष बाद्यवादनमा साथ दिनेछ ।
यो पूर्वी इलाममा जोन चाम्लिङ राई को पहिलो प्रस्तुति हो । हाल उनी देशभर सर्वाधिक सुनेिने र चर्चित संगीत समूहहरूमध्ये एक मानिन्छन् । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन हेलिबोध क्लब बिब्ल्याँटे ले गरेको हो, जसले यसअघि पनि विभिन्न सांगीतिक तथा खेलकुद कार्यक्रम आयोजना गर्दै आएको छ ।
क्लबका अध्यक्ष पूर्ण फत्र लिम्बुका अनुसार यस कार्यक्रमप्रति दर्शकहरूको उत्साह अत्यधिक देखिएको छ र हजारौं दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । उनले भने, “हामीले यसअघि पूर्ण राई, इन्दिरा जोशी, राजेशपायल राईलगायतका कलाकारहरूको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । यस पटक जोन चाम्लिङ राईलाई पहिलो पटक ल्याउन पाउँदा हामी उत्साहित छौं ।”
हेलिबोध क्लबले यस्ता कार्यक्रममार्फत स्थानीय स्तरमा मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको जनाएको छ । कार्यक्रममा प्रवेशका लागि टिकट दर ८०० देखि १५०० रुपैयाँसम्म तोकिएको छ । आयोजकका अनुसार कार्यक्रमको कुल खर्च करिब ३५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

