२१ वैशाख, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) घुँडाको शल्यक्रियापछि पुनःस्थापना (रिहाब)का लागि कतार पुगेकी छन् । उनी हाल विश्वप्रसिद्ध खेलकुद उपचार केन्द्र एस्पेटार अस्पताल मा केही महिना उपचार तथा रिकभरी प्रक्रियामा रहनेछिन् ।
साम्बाले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, क्लब तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्य सुधार सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिएकी छन् । साथै, उनले नेपालमा महिला फुटबलको वर्तमान अवस्थाप्रति केही निराशा व्यक्त गरे पनि भविष्यमा सुधार आउने आशा राखेको बताएकी छन् । उनले आफू चाँडै मैदानमा फर्किने लक्ष्यमा पूर्ण रूपमा केन्द्रित रहेको पनि स्पष्ट पारेकी छन् ।
सावित्रा भण्डारी (साम्बा) हाल अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङटन फोनिक्स बाट खेल्दै आएकी थिइन् । गत पुसमा खेलकै क्रममा गोलकिपरसँग ठोक्किँदा उनको दायाँ घुँडामा गम्भीर चोट लागेको थियो, जसमा एसीएल (ACL) टियर भएको पुष्टि भएको थियो ।
घटनापछि करिब दुई महिनामा, फागुनमा, उनले उपचारका लागि आर्थिक समस्या भएको भन्दै एन्फासँग सहयोगको अपिल गरेकी थिइन् । उक्त अपिलपछि देश–विदेशमा रहेका नेपाली समर्थकहरूले आर्थिक सहयोग जुटाएर उपचारमा योगदान दिएका थिए ।
पछि न्युजिल्यान्डको अकल्यान्डमा रहेका डा. साइमन र उनको मेडिकल टोलीले सफल शल्यक्रिया सम्पन्न गरेका थिए । त्यस समयमा खाडी क्षेत्रमा उपचारका लागि यात्रा सहज नभएकाले साम्बाको शल्यक्रिया न्युजिल्यान्डमै गरिएको थियो ।
हाल उनी एस्पेटार अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा पुनःस्थापना प्रक्रिया अघि बढाउँदै पूर्ण फिटनेसमा फर्किने लक्ष्यसहित तयारीमा जुटेकी छन् ।

