भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले तेलङ्गानाको हैदरावाद र सिकन्दरावादमा आयोजित कार्यक्रममा विदेशी मुद्रा बचत गर्न नागरिकलाई अपिल गर्दै केही उपभोगसम्बन्धी सुझाव दिएका छन्, जसलाई लिएर राजनीतिक विवाद उत्पन्न भएको छ ।

सिकन्दरावादमा आयोजित जनसभामा बोल्दै मोदीले भारतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ र खाने तेल विदेशबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोध र युद्धजस्ता परिस्थितिका कारण बढेको मूल्यवृद्धिको असर कम गर्न सबैले सहयोग गर्नुपर्ने बताएका हुन् ।

उनले नागरिकलाई विदेशी मुद्रा बचत गर्ने सन्दर्भमा केही सुझाव दिँदै एक वर्षसम्म सुन नकिन्न, खाने तेलको प्रयोग कम गर्न र व्यक्तिगत उपभोगमा सचेत रहन आग्रह गरेका थिए । उनका अनुसार अत्यधिक आयातित वस्तुको प्रयोगले देशको विदेशी मुद्रा भण्डारमा दबाब बढ्छ र आर्थिक चुनौती थपिन्छ ।

मोदीले भनेका थिए, “देशका लागि बाँच्नु र आफ्नो कर्तव्य निभाउनु पनि देशभक्ति हो,” भन्दै नागरिकस्तरमै उपभोग व्यवहार परिवर्तन आवश्यक रहेको उल्लेख गरेका थिए ।

तर प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस ले कडा आलोचना गरेको छ । कांग्रेसले सरकारको दायित्व आर्थिक संकट व्यवस्थापन गर्नु भए पनि नागरिकलाई समस्या पर्ने खालका अपिल गर्नु गैरजिम्मेवार कदम भएको आरोप लगाएको छ ।

कांग्रेस नेताहरूका अनुसार सरकारले आपतकालीन आर्थिक रणनीति ल्याउनुको सट्टा नागरिकमाथि बोझ थोपरेको छ, जसले अर्थतन्त्र व्यवस्थापनमा कमजोरी देखिएको संकेत गर्छ ।

यसबीच, विश्लेषकहरूले भने मध्यपूर्वमा जारी तनाव र आपूर्ति शृंखलामा आएको अवरोधका कारण विश्व बजारमा पेट्रोलियम पदार्थ, सुन–चाँदी तथा अन्य वस्तुहरूको मूल्य उतारचढाव भइरहेको बताएका छन् । यस्तै अनिश्चितताका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुँदा यसको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ ।

केन्द्रीय बैंकहरूको लगातार सुन खरिद, भूराजनीतिक तनाव र डलरप्रतिको निर्भरता घटाउने प्रयासका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक रूपमा बढिरहेको उल्लेख गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय