काठमाडौँ — अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइएम जितबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा चर्चित बलिउड गायक कैलाश खेरले स्वर दिएका छन्। यसअघि पनि उनले केही नेपाली फिल्मका गीतमा आवाज दिइसकेका छन्।
गीतमा शब्द रचना तथा संगीत राजसिंह सिधु र जितु नेपालले गरेका छन् भने संगीत संयोजन बव एसएनले गरेका हुन्।
शुभेन्दु घोष निर्देशित फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ। फिल्ममा जितु नेपाल मुख्य भूमिकामा देखिएका छन् भने वर्षा राउत उनकी जोडीका रूपमा देखिएकी छन्।
फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा र बालकलाकार साहरा शर्मासहितका कलाकारहरूको पनि अभिनय रहेको छ।
कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन्। राजन सिंखडा र दीपेन्द्र अधिकारी सह-निर्माताका रूपमा जोडिएका छन्।
फिल्म ‘आइएम जितबहादुर’ आउँदो ५ असारदेखि प्रदर्शनमा आउने तयारीमा छ।

