काठमाडौं । एपीएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रशिला महर्जनले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सिंगल्सतर्फको उपाधि जित्दै राष्ट्रिय च्याम्पियन बनेका छन्। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलपछि उनीहरूले उपाधि हात पारेका हुन्।
पुरुष सिंगल्सतर्फ एपीएफका प्रिन्स दाहालले आर्मीका विधान अधिकारीलाई एकतर्फी प्रदर्शन गर्दै २१–१६, २१–३ को सोझो सेटमा पराजित गरे। यस जितसँगै प्रिन्स लगातार दोस्रो पटक राष्ट्रिय च्याम्पियन बनेका छन्। उनले यसअघि २०७९ सालमा पहिलोपटक राष्ट्रिय उपाधि जितेका थिए। यस स्पर्धामा एपीएफका देवराज राणा र आर्मीका प्रफुल महर्जन तेस्रो स्थानमा रहे।
महिला सिंगल्स फाइनलमा रशिला महर्जनले आर्मीकी तीन पटककी राष्ट्रिय च्याम्पियन नङ्शल तामाङलाई २१–१८, २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन्। रशिलाको यो तेस्रो राष्ट्रिय उपाधि हो। यसअघि उनले २०७६ र २०७९ सालमा पनि राष्ट्रिय च्याम्पियन बनेकी थिइन्। महिला सिंगल्समा आर्मीकी अमिता गिरी र रिहाना शेरचन तेस्रो भए।
त्यसैगरी, रशिला र अमिता गिरीको जोडीले महिला डबल्समा पनि स्वर्ण जित्यो। उनीहरूले कोशी प्रदेशकी रोजी राई र निसम सुब्बाको जोडीलाई २१–१७, २१–१७ ले पराजित गरे।
पुरुष डबल्सतर्फ एपीएफका प्रिन्स दाहाल र देवराज राणाको जोडी विजेता बने। उनीहरूले एपीएफकै भोजबहादुर गुरुङ र क्षितिज खनालको जोडीलाई २१–१०, २१–१८ ले हराए।
मिक्स डबल्समा आर्मीका विधान अधिकारी र अमिता गिरीको जोडीले स्वर्ण जित्यो। प्रतिस्पर्धात्मक फाइनलमा उनीहरूले आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१–११, २०–२२, २१–१९ ले पराजित गरे।
समग्र प्रतियोगितामा नेपाली सेनाले ३ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ। एपीएफले २ स्वर्ण जितेको छ। आर्मीले टिम च्याम्पियनसहित १ लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ।
चारदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीका ११५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। विजेता तथा उपविजेतालाई नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, नेपाल ब्याडमिन्टन संघका प्रतिनिधि र अन्य अतिथिहरूले पुरस्कृत गरेका थिए।

