काठमाडौं । पछिल्लो समयकी चर्चित अभिनेत्री जसिता गुरुङ शनिबार आफ्नो जन्मदिन मनाइरहेकी छन्। रोमान्टिक जनराका फिल्ममार्फत दर्शकमाझ लोकप्रिय बनेकी उनी अहिले नेपाली फिल्म उद्योगकी डिमान्डेड अभिनेत्रीमध्ये एक मानिन्छिन्।
जन्मदिनको अवसरमा उनलाई प्रशंसकदेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन्। फेसबुक, इन्स्टाग्रामलगायत प्लेटफर्ममा उनका तस्बिरसहित शुभकामना सन्देशहरू व्यापक रूपमा सेयर भइरहेका छन्।
सन् २०१८ मा रिलिज भएको रोमान्टिक फिल्म ‘लिली बिली’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी जसिताले त्यसयता ‘लभ स्टेशन’, ‘ज्याकी: आइ एम ट्वान्टी वान’, ‘फर्की फर्की’ र ‘जेरी अन टप’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्।
विशेषगरी अभिनेता अनमोल केसीसँग उनले सहकार्य गरेका ‘फर्की फर्की’ र ‘जेरी अन टप’ बक्सअफिसमा सफल फिल्मका रूपमा परिचित छन्। यी फिल्महरूले उनलाई थप लोकप्रियता दिलाएका थिए। हाल उनले आगामी फिल्म ‘पारस’ मा पनि सम्झौता गरिसकेकी छन्, जुन छायांकनमा जाने तयारीमा रहेको बताइएको छ।
जन्मदिनको अवसरमा जसिताले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै आफ्नो यात्रा, संघर्ष र साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन्। उनले सपना पछ्याउने क्रममा परिवारबाट टाढा बस्नुपरेको पीडा सुनाउँदै वर्षमा एकपटक मात्र परिवारलाई भेट्न पाउँदा जन्मदिनमा घरको सम्झना अझ बढी हुने बताएकी छन्।
उनले आफ्नो काम हेर्ने, माया गर्ने, सन्देश पठाउने र साथ दिने सबैलाई धन्यवाद दिँदै नेपाली फिल्म उद्योगले आफूलाई धेरै कुरा सिकाएको उल्लेख गरेकी छन्। “यो यात्रा उत्साहजनक, सुन्दर, तनावपूर्ण र अर्थपूर्ण रह्यो,” उनले लेखेकी छन्।
नयाँ वर्षको जीवनयात्रामा अझ धेरै प्रगति, स्वास्थ्य, शान्ति र खुशीको कामना गर्दै उनले परिवार, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गरेकी छन्। ‘मलाई जस्तो छु त्यस्तै रूपमा स्वीकार्ने र साथ दिने सबैलाई मनदेखि धन्यवाद,’ उनको भनाइ छ।
जसिताको जन्मदिनमा उनका को-स्टार अनमोल केसीले पनि इन्स्टाग्राम स्टोरीमार्फत रोमान्टिक र मायालु शैलीमा जन्मदिनको शुभकामना दिएका छन्।

