काठमाडौं । विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा यस वर्ष नेपाली उद्यमी दम्पती भूपेन्द्र खनाल र स्नेह शर्मा खनालले घरपालुवा जनावरप्रतिको प्रेम, जिम्मेवारी र पशु कल्याणबारे सशक्त सन्देश प्रस्तुत गरेका छन् । मोरङको उर्लाबारीका खनाल दम्पती कुकुरलाई खुवाइने हिमाली छुर्पी उत्पादन गर्ने अन्तर्राष्ट्रिय ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक हुन् ।
कान्सको रेड कार्पेटमा उनीहरूले आफूहरूले हुर्काएर गुमाएको प्रिय कुकुर ‘मोगली’को सम्झनामा विशेष डिजाइन गरिएको पहिरन लगाएर सहभागिता जनाएका थिए, जसमा प्रेम, वफादारी र आत्मीयताको भाव झल्किने प्रतीकात्मक प्रस्तुति समेटिएको थियो । भूपेन्द्र खनालका अनुसार उक्त पोशाकमा नेपाली मौलिकता, भारतीय शैली र पेरिसको आधुनिक डिजाइनलाई मिसाएर तयार गरिएको थियो । उनले यो उपस्थिति केवल फेसन मात्र नभई आफ्नो पहिचान, संस्कृति, प्रेम र लामो यात्राको भावनात्मक अभिव्यक्ति भएको बताए ।
खनालले विगतमा भारतमा सामाजिक सञ्जाल विश्लेषण कम्पनी सञ्चालन गरेका थिए भने पछिल्लो करिब एक दशकदेखि हिमाली छुर्पी उद्योगमा सक्रिय छन् । सन् २०१५ मा स्थापना गरिएको ‘डग्सी च्यू’ले नेपाल र भारतका हिमाली भेगमा उत्पादन हुने परम्परागत छुर्पीलाई ‘हिमालयन याक च्यू’ ब्रान्डका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्दै आएको छ । हाल यो ब्रान्ड ३० भन्दा बढी देशमा विस्तार भइसकेको छ र कम्पनीका अनुसार वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ । प्राकृतिक र स्वास्थ्यवर्द्धक पशु आहारका रूपमा उत्पादन गरिएको यो छुर्पी विश्वभर लाखौँ घरपालुवा जनावर पाल्ने परिवारसम्म पुगेको कम्पनीले जनाएको छ ।
सह–संस्थापक स्नेह शर्मा खनालले कान्स फिल्म फेस्टिभलमा सहभागिता घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणबारे विश्वव्यापी रूपमा बढ्दो सचेतनाको प्रतिनिधित्व भएको बताइन् । उनले हिमाली क्षेत्रमा जन्मिएको ब्रान्ड विश्वकै प्रतिष्ठित रेड कार्पेटसम्म पुग्नु आफूहरूका लागि अत्यन्तै विशेष र अर्थपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।
पछिल्ला वर्षहरूमा घरपालुवा जनावरलाई परिवारकै सदस्यका रूपमा हेर्ने प्रवृत्ति विश्वभर तीव्र रूपमा बढ्दै गएको छ । यससँगै उनीहरूको स्वास्थ्य, पोषण र समग्र कल्याणबारे बहस पनि विस्तार भइरहेको छ । खनाल दम्पतीको कान्स रेड कार्पेट उपस्थिति त्यही बदलिँदो सामाजिक दृष्टिकोणको प्रतीकात्मक अभिव्यक्तिका रूपमा समेत हेरिएको छ ।

