मुम्बई । भारतीय गायक तथा र्‍यापर Yo Yo Honey Singh ले आफ्नो स्वास्थ्य र व्यक्तिगत जीवनसँग सम्बन्धित एक भावुक खुलासा गरेका छन् । एक पोडकास्ट अन्तर्वार्ताका क्रममा उनले बाइपोलर डिसअर्डर र लामो समयसम्म सेवन गर्नुपरेको कडा औषधिको असरका कारण आफ्नो टाउकोको सबै कपाल झरेको र अहिले विग अर्थात् नक्कली कपाल प्रयोग गर्ने गरेको बताएका हुन् ।

दिल्लीमा जन्मिएका ४३ वर्षीय हृदेश सिंह, जसलाई संसारभर Yo Yo Honey Singh नामले चिनिन्छ, हालै ‘एबीटक्स’ पोडकास्टमा सहभागी भएका थिए । कुराकानीका क्रममा उनले मानसिक तनाव, औषधिको असर र जीवनको सबैभन्दा कठिन समयबारे खुलेर बोले ।

हनी सिंहका अनुसार बाइपोलर डिसअर्डरको उपचारका क्रममा लामो समयसम्म कडा औषधि सेवन गर्नुपर्दा उनको तौल बढेर १०५ किलोसम्म पुगेको थियो । त्यही औषधिको साइड इफेक्टका कारण उनको सम्पूर्ण कपाल झरेको र अहिले देखिने कपाल वास्तविक नभई विग भएको उनले स्वीकार गरे । उनले सन् २०१४ मा लागूऔषधको लत त्यागे पनि त्यसपछिको मानसिक संघर्ष निकै लामो र पीडादायी रहेको बताए ।

उनले आफ्नो जीवनको सात वर्ष अत्यन्त कठिन अवस्थामा बिताएको स्मरण गरे । उनका अनुसार उनी सात वर्षसम्म घरभित्रै सीमित रहे भने त्यसमध्ये तीन वर्ष त बेडरुमबाट समेत बाहिर निस्कन सकेनन् । त्यस अवधिमा आफूलाई लगातार मृत्युको डर लाग्ने, भ्रम हुने र स्वर्ग–नरकको बीचमा अड्किएको जस्तो महसुस हुने गरेको उनले बताए ।

हनी सिंहले सन् २०१८ र २०१९ को समयलाई आफ्नो जीवनकै सबैभन्दा अन्धकारमय समयको रूपमा वर्णन गरे । आमाले खाना ल्याउँदा पनि त्यो आफ्नो अन्तिम भोजन हो भन्ने लाग्ने गरेको उनले बताए । विगत सात वर्षदेखि एउटै औषधि सेवन गर्दा स्वास्थ्यमा कुनै सुधार नआएपछि उनले अन्ततः नयाँ चिकित्सकसँग उपचार सुरु गर्ने निर्णय गरेका थिए ।

नयाँ डाक्टरले औषधिको मात्रा परिवर्तन गर्नुका साथै नयाँ औषधि सुरु गरेपछि मात्र चार साताभित्र आफ्नो अवस्थामा सुधार आएको उनले बताए । त्यसपछि उनले विस्तारै मानिसहरूसँग भेटघाट गर्न थाले र सामान्य जीवनमा फर्किन सफल भए ।

हनी सिंहका अनुसार यो समस्या तब सुरु भएको थियो, जब उनी आफ्नो करियरको शिखरमा थिए । उनी मुम्बईमा एउटा म्युजिक रियालिटी शो गरिरहेका थिए भने अभिनेता Shah Rukh Khan सँग अमेरिका टुरमा सहभागी थिए । शिकागोमा रहँदा पहिलोपटक उनलाई मृत्युको डर र भ्रमको अनुभव भएको थियो । डर यति धेरै बढेको थियो कि उनले आफ्नो आधा टाउको मुन्डन गरेका थिए, जसका कारण शोका आयोजकहरूले उनलाई टोपी लगाउन सुझाव दिएका थिए ।

उनले Shah Rukh Khan ले फोन गर्दा आफू स्टेजमै भेट्ने बताएका भए पनि डरका कारण दुईवटा गीत गाएर कार्यक्रम बीचमै छाडेर फर्किएको स्मरण गरे । अमेरिका टुरपछि उनी पूर्ण रूपमा सार्वजनिक जीवनबाट टाढिएका थिए ।

हनी सिंहले त्यस अवधिमा साथीभाइसँग भेटघाट गर्न छाडेको, फोनमा कुरा गर्न बन्द गरेको र टेलिभिजन तथा इन्टरनेटबाट समेत टाढा रहेको बताए । बाइपोलर डिसअर्डरका कारण आउने डर र नकारात्मक सोचले गर्दा उनी नुहाउँदा समेत बाथरुमको ढोका खुला राख्ने गर्थे ।

सन् २०१० को दशकमा भारतीय पप संगीत उद्योगमा प्रभुत्व जमाएका Yo Yo Honey Singh अहिले भने पूर्ण रूपमा पुनरागमन गरिसकेका छन् । दुई वर्षअघि Netflix मा सार्वजनिक भएको डकुमेन्ट्री Yo Yo Honey Singh: Famous मा पनि उनले आफ्नो संघर्षपूर्ण यात्राको कथा प्रस्तुत गरेका थिए ।

अहिले उनी Makhna र Millionaire जस्ता गीत तथा Honey 3.0 र Glory जस्ता एल्बमार्फत पुनः संगीत क्षेत्रमा सक्रिय छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय