कवि छविरमण सिलवाल को कवितासङ्ग्रह डोरम्याट मानवता, सामाजिक यथार्थ, राजनीतिक विकृति र मानवीय संवेदनाले भरिएको एक सशक्त काव्यकृति रूपमा प्रस्तुत भएको छ । कविले आफ्ना कवितामार्फत मानिस, समाज, प्रकृति र समयका विविध आयामलाई कलात्मक तथा प्रतीकात्मक शैलीमा अभिव्यक्त गरेका छन् ।
सङ्ग्रहको शीर्षक कविता ‘डोरम्याट’ मा कविले आम नागरिकको पीडा र शोषणलाई गहिरो विम्बमार्फत प्रस्तुत गरेका छन् । जसरी डोरम्याटमा जुत्ता पुछेर मानिस घरभित्र प्रवेश गर्छ, त्यसैगरी सत्तामा पुग्न नेताहरूले जनताको छातीमाथि टेक्ने गरेको यथार्थलाई कविले तीव्र व्यङ्ग्यका साथ चित्रण गरेका छन् ।
कवितासङ्ग्रहमा सामाजिक विसंगति, भागबन्डाको राजनीति, मध्यमवर्गीय परिवारको संघर्ष, बाआमाप्रतिको आत्मीयता, समयको त्रासदी, पर्यावरणीय चेतना र मानवीय करुणालाई अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । कवि छविरमणले विशेषगरी मानवीय मूल्य र सहअस्तित्वलाई आफ्नो कविताको केन्द्रमा राखेका छन् ।
‘यो पृथ्वी कसको हो महाशय ?’ शीर्षकको कवितामा सिरिया युद्धमा मारिएका बालबालिकाप्रति समर्पित भाव व्यक्त गर्दै कविले हिंसा, युद्ध र मानवविरोधी गतिविधिप्रति कडा प्रश्न उठाएका छन् । पृथ्वी सबै प्राणीको साझा घर भएको उल्लेख गर्दै उनले सबै जीवप्रतिको सम्मान, सहअस्तित्व र बाँच्ने अधिकारको पक्षमा मानवतावादी विचार प्रकट गरेका छन् ।
त्यस्तै ‘टक्क रोकिएको समय’ कवितामा मानिसको स्वार्थ, प्रकृतिमाथिको दोहन र अहंकारलाई आलोचनात्मक ढंगले चित्रण गरिएको छ । कविका अनुसार मानिस प्रकृतिसँग निरन्तर संघर्ष गरिरहेको छ र यही लोभ तथा अहमताले पृथ्वीलाई संकटतर्फ धकेलिरहेको छ ।
सङ्ग्रहमा गाउँघरको स्मृति, लोकसंस्कृति, आमाको स्वर, पानीघट्ट, चराको गीत र विगतको आत्मीय संसारप्रतिको मोह पनि जीवन्त रूपमा चित्रण गरिएको छ । कविले आधुनिक समाजको कृत्रिमता र भ्रमको खेती गर्ने प्रवृत्तिप्रति सचेत गराउँदै सत्य, संवेदना र मानवीय सम्बन्धको खोजी गरेका छन् ।
सङ्ग्रहको अन्त्यतिर रहेको ‘अदृश्य ईश्वरको नाममा’ कवितामा कविले धर्मका नाममा हुने हिंसा र विभाजनमाथि प्रश्न उठाएका छन् । मानिसले ईश्वरको नाममा युद्ध र द्वन्द्व गरिरहेको यथार्थलाई प्रस्तुत गर्दै कविले मानवता हराउँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
समग्रमा डोरम्याट समकालीन नेपाली समाज, राजनीति, प्रकृति र मानव मनको गहिरो अनुभूति बोकेको संग्रहणीय काव्यकृति हो । कवि छविरमण सिलवाल ले कलात्मक भाषा, प्रतीक र संवेदनामार्फत नेपाली कविता साहित्यमा अर्थपूर्ण योगदान दिएका छन् ।

