आज हामीले सामाजिक सञ्जालमा जे लेखिरहेका छौँ, त्यो केवल विचार होइन । त्यो हाम्रो संस्कार पनि हो । हाम्रो धैर्य पनि हो । हाम्रो अध्ययन पनि हो । हाम्रो चेतना पनि हो । हाम्रो हैसियत पनि हो ।

लाइक, भ्युज र डलरको मोहले उत्तेजित डिजिटल व्यवहार र सञ्जालको प्रयोगले बदलिँदै गएको सामाजिक संस्कारमाथिको एक आत्मचिन्तन !

सरकार परिवर्तन हुन्छ, कुनै राजनीतिक वा सामाजिक आन्दोलन हुन्छ, तत्पश्चात् देशमा ठूलो राजनीतिक तथा सामाजिक तरंग पैदा हुन्छ । कुनै एउटा घटना हुन्छ, अनि केही मिनेटमै सामाजिक सञ्जाल क्रिया–प्रतिक्रिया, व्यंग्य, अपमान, समर्थन र विरोधले भरिन थाल्छ । कसैले लाइकको लागि लेखिरहेको हुन्छ, कसैले गालीलाई साहस ठानिरहेको हुन्छ, कसैले अपमानलाई अभिव्यक्ति स्वतन्त्रताको नाम दिइरहेको हुन्छ ।

तर पछिल्लो समय सामाजिक सञ्जाल नियाल्दै गर्दा मलाई बारम्बार एउटा गहिरो प्रश्नले सताइरहेको छ—के हामी केवल स्ट्याटस लेखिरहेका छौँ ?

के हामी केवल भिडियो बनाइरहेका छौँ ? वा हामी बिस्तारै आफ्नै चरित्र निर्माण गरिरहेका छौँ ?

आज हामीले सामाजिक सञ्जालमा जे लेखिरहेका छौँ, त्यो केवल विचार होइन । त्यो हाम्रो संस्कार पनि हो । हाम्रो धैर्य पनि हो । हाम्रो अध्ययन पनि हो । हाम्रो चेतना पनि हो । हाम्रो हैसियत पनि हो । हामीले कसैप्रति असहमति राख्ने शैली, कसैलाई समर्थन गर्ने तरिका, आलोचनाको जवाफ दिने भाषा र रिस व्यक्त गर्ने व्यवहारले हाम्रो समाजको स्तर देखाइरहेको छ ।

कहिलेकाहीँ यस्तो लाग्छ—आज कसैको चरित्र बुझ्न उसको घर, कार्यालय वा सार्वजनिक मञ्चमा जानै पर्दैन । उसको सामाजिक सञ्जाल खोले पुग्छ । किनकि त्यहाँ उसले आफ्नो विचार मात्र लेखिरहेको हुँदैन; उसले आफ्नो व्यक्तित्व सार्वजनिक गरिरहेको हुन्छ ।

नेपाल अहिले केवल राजनीतिक सङ्क्रमणमा छैन; सामाजिक र मनोवैज्ञानिक सङ्क्रमणमा पनि छ । पछिल्लो समय नेपालको जेन–जी आन्दोलनले समाजमा गहिरो प्रभाव पारेको छ । नयाँ पुस्ताले पुराना राजनीतिक संरचनामाथि प्रश्न उठाउन थालेको छ । नागरिकहरू पुराना सिन्डिकेटहरूबाट निराश हुँदै नयाँ विकल्प खोजिरहेका छन् । नयाँ दलहरू उदाएका छन् । नयाँ अनुहारहरू स्थापित भइरहेका छन् । तर परिवर्तनसँगै समाजमा एउटा अस्थिर मनोविज्ञान पनि निर्माण भइरहेको छ ।

कोही नयाँ परिवर्तनप्रति अत्यधिक उत्साहित छन् । कोही पुरानो संरचनाको बचाउमा छन् । कोही नयाँ शक्तिप्रति अन्ध समर्थनमा छन् । कोही पुरानाप्रति अन्ध घृणामा छन् । र यी सबै भावनाहरू अहिले सामाजिक सञ्जालमा विस्फोट भइरहेका छन् ।

आज फेसबुक, टिकटक, युट्युब र एक्स (ट्विटर) केवल सूचना आदानप्रदान गर्ने माध्यम छैनन् । ती अहिले सार्वजनिक मनोविज्ञानको ऐना बनेका छन् । समाजभित्रको धैर्य, असहिष्णुता, अध्ययन, उत्तेजना, भ्रम र चेतनाको स्तर सबैभन्दा धेरै अहिले सामाजिक सञ्जालमै देखिन्छ ।

हामीले आफ्ना धारणाहरू राखिरहेका छौँ । समर्थन गरिरहेका छौँ । विरोध गरिरहेका छौँ । तर मुख्य प्रश्न यहाँ उठ्छ—हामी त्यो कुरा कति सभ्य तरिकाले गरिरहेका छौँ ? कति जिम्मेवार भएर बोलिरहेका छौँ ? अभिव्यक्ति स्वतन्त्रताको नाममा हामी असभ्यताको अभ्यास त गरिरहेका छैनौँ ?

सामाजिक सञ्जालमा हामी केवल विचार राखिरहेका हुँदैनौँ, हामी आफ्नो चरित्र पनि सार्वजनिक गरिरहेका हुन्छौँ । आज सामाजिक सञ्जालमा व्यक्त गरिने शैली केवल विचार होइन; त्यो चरित्रको प्रतिविम्ब पनि हो ।

मानिसले कुन शब्द प्रयोग गर्छ, कसरी असहमति जनाउँछ, कसरी प्रतिक्रिया दिन्छ, कसरी रिस पोख्छ—यी सबै कुराहरूले उसको संस्कार देखाउँछन् । लोकतन्त्रमा अभिव्यक्ति आवश्यक छ । आलोचना आवश्यक छ । विरोध आवश्यक छ । तर आलोचना र अपमान एउटै कुरा होइनन् ।

आज धेरै मानिसहरू अभिव्यक्ति स्वतन्त्रताको नाममा आफ्ना आक्रोशहरू पोखिरहेका छन् । तर प्रश्न के छ भने—हामी विचार राखिरहेका छौँ कि केवल आफ्नो आवेग सार्वजनिक गरिरहेका छौँ ?

केही दिनअघि पूर्व प्रधानन्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशीला कार्कीको एउटा अभिव्यक्ति र अन्तर्वार्ता निकै चर्चामा आयो । मैले त्यसलाई केवल एउटा राजनीतिक अभिव्यक्ति वा व्यक्तिगत प्रतिक्रिया भनेर मात्र हेरिनँ । मैले त्यसलाई एउटा गहिरो सामाजिक मनोविज्ञानको रूपमा हेरेँ ।

पदमा हुँदा मानिसहरू संयमित देखिन्छन् । संस्थागत सीमाभित्र बस्छन् । शब्द नापेर बोल्छन् । तर जब उनीहरू पदबाट बाहिरिन्छन्, त्यही व्यक्तिको वास्तविक भाषा, वास्तविक धैर्य र वास्तविक शैली खुला रूपमा देखिन थाल्छ । यो केवल न्यायालय वा राजनीतिमा मात्र होइन; कलाकार, लेखक, पत्रकार, बुद्धिजीवी र सार्वजनिक व्यक्तित्वहरूमा पनि देख्न सकिने प्रवृत्ति हो ।

हर्कराज राईलाई नै हेरौँ । धरानको नगर प्रमुख रहँदा उहाँको कार्यशैली, कार्यपालिका बैठकको व्यवहार र अरूलाई बोल्न नदिने शैलीबारे बारम्बार चर्चा हुने गरेको थियो । तर अहिले ती सबै कुरा देख्दा उहाँ आफैँलाई पनि बडो आश्चर्य लाग्छ होला । अहिले पनि उहाँका सार्वजनिक अभिव्यक्तिहरूले त्यही जिद्दी, आवेगपूर्ण र असहिष्णु शैलीलाई निरन्तर देखाइरहेको अनुभूति धेरै मानिसहरूले गरिरहेका छन् ।

यी उदाहरणहरूले एउटा गहिरो प्रश्न उठाउँछन्—पदले केही समय व्यवहारलाई नियन्त्रण गर्न सक्छ, तर चरित्रलाई स्थायी रूपमा लुकाउन सक्दैन ?

नेपालमा धेरै यस्ता सार्वजनिक व्यक्तित्वहरू छन्, जसले आफ्नो जीवनको एउटा चरणमा ठूलो सम्मान पाए । तर पछिल्लो समय सामाजिक सञ्जालमा उनीहरूको व्यवहारले मानिसहरूलाई पुनः सोच्न बाध्य बनाइरहेको छ ।

खगेन्द्र संग्रौलालाई धेरैले नेपालका तीक्ष्ण र वैचारिक लेखकको रूपमा सम्मान गर्छन् । उहाँका लेखनले पुस्तौँलाई प्रभाव पारेका छन् । तर पछिल्लो समय सामाजिक सञ्जालमा उहाँका केही आक्रामक अभिव्यक्तिहरूले धेरै मानिसहरूलाई असहज बनाएको देखिन्छ । यहाँ प्रश्न उहाँ सही कि गलत भन्ने मात्र होइन । प्रश्न के हो भने—के सामाजिक सञ्जालले मानिसलाई आफ्नो पुरानो प्रतिष्ठा जोगाउनभन्दा पनि निरन्तर चर्चामा रहिरहन बाध्य बनाइरहेको छ ?

राजेश हमाल नेपाली समाजका अत्यन्त सम्मानित कलाकारमध्ये एक हुन् । धेरैका लागि उनी केवल अभिनेता मात्र होइनन्, एउटा प्रेरणादायी व्यक्तित्व हुन् । तर गत निर्वाचनको सन्दर्भमा उहाँले पुराना दलहरूको पक्षमा व्यक्त गरेका केही धारणाहरूलाई लिएर सामाजिक सञ्जालमा ठूलो बहस भयो । कतिपय मानिसहरूले त्यसलाई सामान्य राजनीतिक धारणा माने । कतिपयले चाहिँ ‘नयाँ पुस्ताको परिवर्तनप्रतिको असहजता’का रूपमा हेरे । यहाँ पनि प्रश्न व्यक्ति होइन । प्रश्न सामाजिक सञ्जालको प्रकृति हो । सामाजिक सञ्जालले अहिले हरेक अभिव्यक्तिलाई स्थायी बहसमा बदलिदिन्छ ।

विजय कुमार पाण्डेजस्ता वरिष्ठ पत्रकारहरूले नेपालमा लामो समयसम्म सार्वजनिक विमर्श निर्माण गरेका छन् । उहाँले धेरै पटक आफूले पुराना नेताहरू, विशेष गरेर कृष्णप्रसाद भट्टराईजस्ता व्यक्तित्वहरूको संगतबाट धेरै सिकेको कुरा बताउनुभएको छ । उद्योगपति विनोद चौधरीको घरमा कैयौँ पटक रक्सी पिएर छादेको कुरा पनि सुनाउनुहुन्छ । तर अहिले उहाँले अरूलाई कुनै नेताको समर्थन गर्नु वा व्यापारीको संगत गर्नु जस्ता कुरालाई फरक तरिकाले व्याख्या गर्नुहुन्छ ।

यहाँ एउटा गहिरो प्रश्न उठ्छ—

यदि हामी आफूले गरेको सम्बन्धलाई ‘विचार’ भन्छौँ भने, अरूले गरेको सम्बन्धलाई किन तुरुन्तै ‘गलत प्रभाव’ भन्न थाल्छौँ ?

यदि कुनै सार्वजनिक व्यक्तित्वले आफ्नो जीवनमा शक्तिशाली मानिसहरूको संगत गरेको छ भने, अरूले पनि कसैसँग सम्बन्ध राख्दैमा त्यो स्वतः गलत हुन्छ भन्ने हुँदैन ।

आज सामाजिक सञ्जालको एउटा ठूलो समस्या यही हो—हामी आफूलाई जटिल सन्दर्भमा हेर्छौँ, तर अरूलाई एकलाइन निर्णयबाट हेर्छौँ ।

सामाजिक सञ्जालले हाम्रो स्तर बनाइरहेको छ । हामी रिसमा लेखिरहेका छौँ । आक्रोशमा प्रतिक्रिया दिइरहेका छौँ । कसैलाई समर्थन गर्दा अन्ध समर्थन गरिरहेका छौँ । कसैको विरोध गर्दा मानवीय सीमासम्म बिर्सिरहेका छौँ । र बिस्तारै सामाजिक सञ्जालले हाम्रो संस्कार सार्वजनिक गरिरहेको छ ।

कुनै सभ्य समाजको पहिचान केवल सहमतिमा हुँदैन । असहमति व्यक्त गर्ने शैलीमा पनि हुन्छ । आज हामीले फरक विचार सुन्न सकिरहेका छौँ कि छैनौँ ?

हामीलाई राम्रो भन्ने मानिस मात्र प्रिय छन् कि आलोचना गर्ने मानिससँग पनि संवाद गर्न सक्छौँ ?

यही प्रश्नहरूले समाजको परिपक्वता निर्धारण गर्छ ।

लाइक, भ्युज र डिजिटल प्रसिद्धिको मनोविज्ञान

पछिल्लो समय सामाजिक सञ्जाल एउटा विशाल attention market बनेको छ । लाइक, भ्युज, फलोअर, रीच र monetization ले मानिसहरूको व्यवहार परिवर्तन गर्न थालेको छ । धेरै मानिसहरू अब “के सही हो ?” भन्दा पनि “के भाइरल हुन्छ ?” भन्ने मानसिकताबाट चल्न थालेका छन् ।

कहिलेकाहीँ यस्तो लाग्छ—हामी सही हुनभन्दा बढी देखिन खोजिरहेका छौँ ।

भाइरल हुनको लागि उत्तेजना चाहिन्छ । विभाजन चाहिन्छ । विवाद चाहिन्छ । एल्गोरिदमले त्यही कुरा फैलाउँछ, जसले मानिसलाई तुरुन्त प्रतिक्रिया दिन बाध्य बनाउँछ ।

फलस्वरूप, अपमान मनोरञ्जन बन्न थालेको छ । आक्रोश लोकप्रियता बन्न थालेको छ ।

तर प्रश्न उठ्छ—यदि समाजले निरन्तर उत्तेजनालाई नै साहस ठान्न थाल्यो भने, भोलि धैर्यलाई के मान्ने ?

डिजिटल व्यवहार बिस्तारै स्वभाव बन्दैछ

दोहोरिने आदत (Repeated behavior) ले मानिसलाई उही स्वभावको बनाउन मद्दत गर्छ ।

आज हामीले सामाजिक सञ्जालमा प्रयोग गरिरहेको भाषा, शैली र व्यवहार केवल क्षणिक प्रतिक्रिया मात्र नहुन सक्छ । त्यो बिस्तारै हाम्रो स्वभाव बन्न सक्छ ।

कुनै व्यक्ति लामो समय सेना वा अनुशासनयुक्त पेशामा काम गर्छ भने, रिटायर्ड भएपछि पनि उसले त्यही शैली बोकेर हिँडिरहेको देखिन्छ । किनकि मानिसले जे धेरै अभ्यास गर्छ, अन्ततः त्यही सहज रूपमा गर्न सिक्छ ।

त्यसैले आज सामाजिक सञ्जालमा निरन्तर अपमान गर्ने मानिस भोलि वास्तविक जीवनमा पनि असहिष्णु बन्न सक्छ । आज reaction culture सामान्य ठान्ने समाज भोलि संवाद गर्न नसक्ने समाजमा बदलिन सक्छ ।

यदि हामीले निरन्तर उत्तेजनालाई सामान्य बनायौँ भने, सम्मान हराउन सक्छ । यदि हामीले निरन्तर अपमानलाई हास्य बनायौँ भने, संवेदनशीलता हराउन सक्छ ।

राजनीतिक चेतना र भीडको उत्तेजना एउटै कुरा होइन

लोकतन्त्रमा विचार आवश्यक हुन्छ । अभिव्यक्ति आवश्यक हुन्छ । आलोचना आवश्यक हुन्छ । तर विचार र भीडको उत्तेजना एउटै कुरा होइनन् ।

आज सामाजिक सञ्जालमा धेरै ठाउँमा तर्कभन्दा बढी उत्तेजना देखिन्छ । समालोचनाभन्दा बढी अपमान देखिन्छ । आफ्नो पक्षको मानिसले जे बोले पनि सही लाग्ने, तर फरक विचार राख्ने मानिसलाई तुरुन्तै गलत ठान्ने प्रवृत्ति बढिरहेको छ ।

लोकतन्त्रको अर्थ केवल “म बोल्न पाऊँ” भन्ने होइन । लोकतन्त्रको अर्थ “म अरूको कुरा पनि सुन्न सकूँ” भन्ने पनि हो ।

यदि समाजले आलोचनाको ठाउँमा अपमानलाई सामान्य बनायो भने, भोलि विचारभन्दा भीडको आवाज ठूलो हुन थाल्छ ।

हामी आफ्नै डिजिटल अभिलेख बनाइरहेका छौँ

पहिले मानिसहरूले बोलेका धेरै कुरा समयसँगै हराउँथे । तर अहिले हामीले सामाजिक सञ्जालमा लेखेका शब्दहरू, बोलेका विचारहरू र दिएका प्रतिक्रियाहरू कतै न कतै सुरक्षित भइरहेका हुन्छन् । स्क्रीनशट रहन्छ । रेकर्डिङ रहन्छ । आर्काइभ रहन्छ ।

आज हामीले राजनीतिक नेताहरूलाई आफ्नै विगतका अन्तर्वार्ताहरूको सामना गरिरहेको देखिरहेका छौँ । वर्षौँअघि बोलेका शब्दहरू अहिले फेरि भाइरल भइरहेका छन् । धेरै सांसदहरू, नेताहरू र सार्वजनिक व्यक्तित्वहरू अहिले आफ्नै विगतका अभिव्यक्तिहरूको जवाफ दिन कठिन महसुस गरिरहेका छन् ।

यसले एउटा गहिरो सत्य सम्झाउँछ—डिजिटल संसारले धेरै कुरा बिर्सिएजस्तो देखिए पनि, अभिलेखहरू हराउँदैनन् ।

आज आक्रोशमा बोलेको कुरा भोलि ग्लानी बन्न सक्छ । आज भाइरल हुन लेखिएको कुरा भोलि प्रतिष्ठामाथिको बोझ बन्न सक्छ ।

अब हामीले के सिक्नुपर्छ ?

सामाजिक सञ्जाललाई रोक्न सम्भव छैन । आवश्यक पनि छैन । प्रश्न सामाजिक सञ्जालको अस्तित्वको होइन; त्यसको प्रयोगको संस्कृतिको हो ।

हामीले अब अध्ययन गर्ने बानी बढाउनुपर्छ । पुस्तकहरू पढ्नुपर्छ । लामो अन्तर्वार्ताहरू सुन्नुपर्छ । फरक विचारहरू बुझ्न सिक्नुपर्छ । सामाजिक सञ्जाललाई केवल रील्स र उत्तेजनाको माध्यम होइन, सिकाइको माध्यम पनि बनाउनुपर्छ ।

हामीले सभ्य असहमति सिक्नुपर्छ । डिजिटल अनुशासन कायम गर्नुपर्छ । Reaction भन्दा Reflection बढाउनुपर्छ ।

किनकि समाज केवल कानूनले मात्र सभ्य हुँदैन; समाज मानिसहरूको भाषा, व्यवहार र संवाद संस्कृतिले पनि सभ्य बन्छ ।

यो लेख लेख्दै गर्दा मैले केवल समाजलाई हेरेर मात्र लेखेको होइन; मैले आफैँलाई पनि धेरै पटक नियालेँ । म आफैँ पनि सामाजिक सञ्जाल प्रयोग गर्छु । पहिले धेरै लेख्थेँ । अहिले भिडियोहरू बनाउँछु । र कहिलेकाहीँ मलाई आफैँलाई पनि डर लाग्छ—कतै म पनि भीडको उत्तेजनामा बहकिन्छु कि ? कतै लाइक र भ्युको आकर्षणले मेरो शैली परिवर्तन गरिरहेको त छैन ?

यही कारणले अहिले म आफूलाई धेरै पटक रोक्ने प्रयास गर्छु । कहिलेकाहीँ केही कुरा नलेख्नु राम्रो लाग्छ । केही कुरा नबोल्नु राम्रो लाग्छ । किनकि क्षणिक आवेगमा बोलेको कुरा भुलिन सक्छ, तर त्यसले बनाएको चरित्र सजिलै मेटिँदैन ।

त्यसैले कहिलेकाहीँ आफ्नो social media memory खोलेर हेर्नुहोस् । विगतमा लेखेका स्ट्याटस, राखेका तस्बिरहरू र बोलेका शब्दहरू फेरि पढ्नुस् । अनि आफैँलाई एउटा प्रश्न सोध्नुस्—

“आज म त्यो कुरा फेरि देख्दा गर्व महसुस गर्छु कि ग्लानी ?”

किनकि अन्ततः सामाजिक सञ्जालमा हामीले लेखिरहेका शब्दहरू केवल पोस्टहरू होइनन् । ती शब्दहरूले हाम्रो चरित्र बनाइरहेका हुन्छन् । हाम्रो समाज बनाइरहेका हुन्छन् । र अन्ततः, हाम्रो भविष्य पनि ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय