काठमाडौं : दैनिक जीवनमा लामो समयसम्म बसिरहने वा सुतिरहने निष्क्रिय बानीले क्यान्सर हुने तथा क्यान्सरका कारण मृत्यु हुने जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अनुसन्धानले निष्क्रिय समयलाई बीच–बीचमा सामान्य शारीरिक गतिविधिले तोड्दा भने यस्तो जोखिम उल्लेखनीय रूपमा घट्न सक्ने संकेत गरेको छ।
लामो समयदेखि विशेषज्ञहरूले धेरैबेर बसिरहने, ढल्किएर समय बिताउने वा शारीरिक गतिविधिविना दिन कटाउने जीवनशैलीलाई मोटोपन, टाइप–२ मधुमेह, विभिन्न प्रकारका क्यान्सर तथा समयअघि मृत्यु हुने जोखिमसँग जोड्दै आएका छन्। तर हालसम्मका अधिकांश स्वास्थ्य निर्देशिकाले व्यक्ति दिनभर कति समय निष्क्रिय रह्यो भन्ने पक्षलाई मात्र प्राथमिकता दिएका छन्। निष्क्रिय समय लगातार थियो वा बीच–बीचमा गतिविधिद्वारा अवरोध गरिएको थियो भन्ने पक्षमा भने कम ध्यान दिइएको थियो।
यही विषयलाई केन्द्रमा राखेर ग्लास्गो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ‘प्लोस मेडिसिन’ जर्नलमा प्रकाशित अध्ययनमार्फत निष्कर्ष सार्वजनिक गरेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार निष्क्रिय जीवनशैलीले स्वास्थ्यमा पार्ने प्रभाव केवल कुल निष्क्रिय समयमै सीमित हुँदैन, त्यो समय लगातार बिताइएको हो वा बीच–बीचमा हिँडडुल तथा अन्य गतिविधिद्वारा टुक्र्याइएको हो भन्ने कुराले पनि ठूलो भूमिका खेल्छ।
उनीहरूले प्रयोगात्मक अध्ययनहरू उद्धृत गर्दै लगातार धेरैबेर बसिरहनुभन्दा बीच–बीचमा उठेर केहीबेर हिँड्ने, शरीर चलाउने वा सामान्य शारीरिक गतिविधि गर्ने बानीले शरीरको मेटाबोलिक प्रणालीमा सकारात्मक सुधार ल्याउने बताएका छन्।
यस अध्ययनका लागि अनुसन्धानकर्ताहरूले यूके बायोबैंकमा सहभागी ९१ हजार २९२ जनाको तथ्याङ्क विश्लेषण गरेका थिए। सहभागीहरूले सात दिनसम्म शरीरको गतिविधि मापन गर्ने उपकरण लगाएका थिए र त्यसपछि उनीहरूको स्वास्थ्य अवस्था करिब १२ वर्षसम्म अनुगमन गरिएको थियो।
अनुसन्धानमा सहभागीहरूको दैनिक गतिविधिलाई तीन वर्गमा विभाजन गरिएको थियो। पहिलो, ‘लगातार निष्क्रिय’ समूह, जहाँ ३० मिनेटको अवधिमा व्यक्ति ९० प्रतिशतभन्दा बढी समय स्थिर रहन्थ्यो। दोस्रो, ‘टुक्रिएको निष्क्रिय बानी’ समूह, जहाँ ३० मिनेटको अवधिमा कम्तीमा १० प्रतिशत समय केही न केही शारीरिक गतिविधि गरिएको थियो। तेस्रो वर्गमा विभिन्न स्तरका शारीरिक गतिविधि गर्ने व्यक्तिहरूलाई समावेश गरिएको थियो।
अध्ययनले लगातार लामो समयसम्म निष्क्रिय रहने व्यक्तिहरूमा क्यान्सरका कारण मृत्यु हुने जोखिम ९ प्रतिशतले बढी रहेको देखाएको छ। यस्तै, समग्र क्यान्सर, मोटोपनसँग सम्बन्धित क्यान्सर—जस्तै अन्ननली, कलेजो, मिर्गौला, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, डिम्बाशय तथा थाइराइड क्यान्सर—र टाइप–२ मधुमेहसँग सम्बन्धित क्यान्सरको सम्भावना पनि उनीहरूमा बढी देखिएको अनुसन्धानले उल्लेख गरेको छ।
यसको विपरीत, बस्ने वा सुत्ने समयको बीच–बीचमा केहीबेर उठेर हिँडडुल गर्ने वा सामान्य शारीरिक गतिविधि गर्ने व्यक्तिहरूमा क्यान्सर र टाइप–२ मधुमेहको जोखिम तुलनात्मक रूपमा कम रहेको पाइएको छ। अनुसन्धानअनुसार दिनभर लगातार बस्ने समयमध्ये केवल एक घण्टा घटाएर त्यसको सट्टा सामान्य हिँडडुल वा हल्का शारीरिक गतिविधि गर्दा मात्रै पनि क्यान्सरका कारण हुने मृत्युको जोखिम १२ प्रतिशतसम्म घट्न सक्छ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले पनि वयस्कहरूलाई दैनिक रूपमा सक्रिय रहन र हप्तामा कम्तीमा दुई दिन शक्ति बढाउने व्यायाम गर्न सिफारिस गरेको छ। नियमित हिँड्ने, दौडिने, पौडी खेल्ने, बगैँचामा काम गर्ने वा अन्य शारीरिक गतिविधि अपनाउन तथा लामो समयसम्म एकै स्थानमा नबस्न एनएचएसले सुझाव दिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार हालका स्वास्थ्य सिफारिसहरू मुख्यतः मध्यम वा कडा व्यायाममा केन्द्रित भए पनि अध्ययनको निष्कर्षले हल्का हिँडडुल र सामान्य शारीरिक गतिविधिको महत्व पनि उत्तिकै रहेको देखाएको छ। उनीहरूले भविष्यमा हुने क्लिनिकल अध्ययनहरूले व्यक्तिको जीवनशैलीअनुसार बस्ने समय व्यवस्थापन गर्ने प्रभावकारी रणनीति विकास गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

