धनगढी । सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम तथा प्रयासहरू सञ्चालन भइरहे पनि नयाँ बिरामी पहिचान गर्ने कार्य अझै चुनौतीपूर्ण बनेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा क्षयरोगका धेरै बिरामी अझै पनि पत्ता नलागेको अवस्थामा रहेको अनुमान गरिएको छ, जसले सार्वजनिक स्वास्थ्य व्यवस्थापनमा गम्भीर चुनौती सिर्जना गरेको छ । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकमा समेत संक्रमण फैलिन सक्ने जोखिम उच्च रहेको अधिकारीहरूको भनाइ छ ।
स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन मनोज प्रसाद ओझाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ८४ नयाँ क्षयरोगी पत्ता लगाउने लक्ष्य राखिएको थियो । तर हालसम्म ३ हजार ६ सय ५१ जना मात्र नयाँ बिरामी पहिचान भएका छन्, जुन कुल लक्ष्यको करिब ५७ प्रतिशत मात्र हो । यसले अपेक्षाभन्दा कम प्रगति भएको स्पष्ट देखाउँछ ।
प्रदेशका ९ जिल्लामध्ये तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर क्षयरोगको प्रमुख केन्द्रका रूपमा देखिएका छन् । तथ्यांकअनुसार हालसम्म पहिचान भएका कुल बिरामीमध्ये ६८ प्रतिशत बिरामी यी दुई जिल्लामा मात्रै फेला परेका छन् । कैलालीमा ४२ प्रतिशत र कञ्चनपुरमा २६ प्रतिशत नयाँ बिरामी भेटिएका छन् । पहाडी जिल्लाको तुलनामा तराईमा जनघनत्व बढी हुनु, बसाइँसराइको चाप र स्वास्थ्य सेवामा असमान पहुँच जस्ता कारणले यहाँ बिरामी संख्या बढी देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्षयरोग पहिचानका लागि पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढाइएको छ । जीन एक्सपर्ट मेसिनमार्फत खकार परीक्षणलाई तीव्रता दिइएको छ, जसबाट रोग छिटो र सटीक रूपमा पहिचान गर्न सहयोग मिलेको छ । गत वर्ष मात्रै १६ हजार २ सय ६४ जनाको जीन एक्सपर्ट परीक्षण गर्दा २ हजार २ सय ५३ जनामा क्षयरोग पुष्टि भएको थियो ।
त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित डिजिटल एक्सरे मेसिनको प्रयोगमार्फत समुदायस्तरमै पुगेर सक्रिय केस खोज्ने (एक्टिभ केस फाइन्डिङ) कार्य पनि सञ्चालन भइरहेको छ । कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा गरिएको स्वास्थ्य शिविर तथा स्क्रिनिङ अभियानबाट धेरै लुकेका बिरामीहरू पहिचान गर्न सफल भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उपचार पक्ष भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । प्रदेशमा उपचारमा रहेका बिरामीमध्ये ८९.९४ प्रतिशत बिरामी सफल उपचारपछि निको भएका छन्, जुन सकारात्मक सूचक मानिन्छ । तर, मृत्युदर अझै पनि चिन्ताजनक रूपमा कायम छ । गत आर्थिक वर्षमा ३.८६ प्रतिशत बिरामी क्षयरोगका कारण ज्यान गुमाएका छन्, जसमा अछाम र डोटी जिल्लामा मृत्युदर केही बढी देखिएको छ ।
यसैगरी, औषधि प्रतिरोधी (ड्रग रेसिस्टेन्ट) क्षयरोगका ३५ जना बिरामी फेला परेका छन्, जसको उपचार प्रक्रिया लामो, खर्चिलो र जटिल हुने गरेको छ ।
फोकल पर्सन ओझाका अनुसार अबको मुख्य ध्यान समुदायस्तरमै सक्रिय खोज अभियानलाई विस्तार गर्ने, अस्पताल तथा निजी स्वास्थ्य संस्थामा नियमित स्क्रिनिङ प्रणालीलाई मजबुत बनाउने, कुपोषणको समस्या समाधान गर्ने तथा बिरामीले बीचमै औषधि छोड्ने प्रवृत्ति रोक्ने दिशामा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।

